देउवा, प्रचण्ड र माधवबीच भएकाे दिनभरिको छलफलको यस्तो निष्कर्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० माघ २०७८, बिहीबार ०६:०५

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेता प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच मंगलबार फरक–फरक समयमा दुई पटक भेट भएको छ ।

पाँच दलीय गठबन्धन टुट्ने हल्लाका चलिरहेको बेला ती तीन नेताहरुबीचको छलफलले मंगलवार नेपाली राजनीतिक परिवेश निकै तातेको थियो ।

दुबै पटकको भेटमा तीनै जना नेताहरुले गठबन्धन कुनै पनि हालतमा नटुट्ने र अझ त्यसलाई मजबुत बनाएर अगाडि बढ्ने अठोट गरेको बालुवाटार स्रोतले नागरिक खबरलाई बतायो ।

बैठकमा गठबन्धन एकतावद्ध रहेकाे र रहिरहने अठाेट भएकाे र अमेरिकी परियोजना (एमसीसी)मा दलहरूबीच भएका धारणाहरू फरक भएपनि त्यसमा छलफल गर्दै अगाडि बढ्ने सहमति भएकाे बताइएकाे छ ।

मंगलबार विभिन्न सञ्चारमाध्यममा प्रम देउवाले अमेरिकी परियोजना (एमसीसी)मा कारण गठबन्धन तोड्न लागेको भन्ने आशयका समाचार सम्प्रेषण भएका थिए । एकै दिन भएको दुई पटकको तीन नेताको छलफलले गठबन्धन टुट्ने हल्ला हल्लामा मात्र सिमित भएको स्रोतको भनाई छ ।

नेकपा (एमाले)ले गठबन्धन तोडेर अगाडि बढे एमसीसीमा प्रम देउवालाई सहयोग गर्ने बताउँदै आएको छ । एमसीसीमा परिमार्जन गर्नुपर्ने कुनै कुरा नभएको बताउँदै आएका प्रम देउवा गठबन्धनका अन्य नेताहरु भन्दा पृथक अभिव्यक्ति दिँदै आएका छन् ।

गठबन्धनमा एमसीसीलाई लिएर नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको अध्यक्षतामा अध्ययन कार्यदल पनि बनेको छ । उक्त कार्यदलले कुनै अध्ययन प्रतिवेदन भने अझै सार्वजनिक गरेको छैन यद्दपि मौखिक सुझाब भने प्रम देउवालाई दिएको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिगमन’ का विरुद्ध बनेको पाँच राजनीतिक दलहरुको गठबन्धन उनै ओलीका कारण तोडिने आशंका भएपनि मंगलवारको तीन नेताहरुको बैठकले गठबन्धन जारी राख्न के कति उपलब्धी हासिल गर्यो भन्ने अझै अन्योल नै छ ।

प्रतिक्रिया