प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच फोनवार्ता, के- के भयो कुराकानी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७८, मंगलवार ०६:१९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फोनवार्ता भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिएको जानकारीअनुसार दुई नेताबीच हिजो आईतबार फोनमा करिब आधा घण्टा कुराकानी भएको थियो ।

उक्त कुराकानीमा प्रधानमन्त्री देउवालाई ओलीले गठबन्धन तोड्न प्रस्ताव गरेका थिए । पछिल्लो समय एमसीसी सदनबाट पारित गर्ने विषयमा पाँच दलीय गठबन्धनमा खटपट सुरु भैरहेको बेला प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच गम्भीर राजनीतिक वार्ता भएको छ ।

ओलीले गठबन्धन तोड्न र एकल सरकार चलाउन सहयोग गर्ने पनि प्रस्ताव गरेको बुझिएको छ । प्रधानमन्त्री देउवाले गत पुष २४ गते बालकोट पुगेर ओलीसँग लामो कुराकानी गरेका थिए ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी सदनबाट अनुमोदन गराउन चाहन्छन् । उनले गठबन्धनका नेताहरुसँग पनि यो कुरा सेयर गरिरहेका छन् । उनले एमसीसी पास गराउन सहयोग नगरे गठबन्धन तोड्ने चेतावनी दिएका छन् । यही विषयलाई लिएर अहिले गठबन्धनका शीर्ष नेताहरुको दौडधुप चलिरहेको छ ।

एमसीसी पास गर्नका लागि सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने एमाले अध्यक्ष ओलीको प्रस्ताव छ । ओलीको प्रस्तावमा एमसीसी पास हुन्छ भने आफू जे गर्न पनि तयार रहेको भन्दै देउवाले पनि भित्रभित्रै सहमति जनाएको स्रोतको दाबी छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता ओलीलाई भेट्न २४ पुसमा उनकै निवास बालकोट पुगेका थिए । ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री भएपछि उनीहरुबीच पहिलोपटक भएको औपचारिक भेट करिब एक घण्टा चलेको थियो ।

त्यो भेटमा प्रधानमन्त्री देउवाले संसद अवरोध खोल्न र एमसीसी अनुमोदनका लागि सहयोग मागेका थिए । प्रधानमन्त्री देउवाले हालै मात्र गठबन्धनका केही शीर्ष नेताहरु र पार्टीका आफू निकट नेताहरुलाई बताएअनुसार ओलीले सभामुख हटाए संसद अवरोध खोल्ने र एमसीसी पास गर्न पनि सघाउने जवाफ दिएका छन् ।

प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् तर सत्ता गठबन्धनमा सहमति जुटाउन सकेका छैनन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नहुँने पक्षमा छन् ।

ओलीले सभामुख हटाए वा सत्ता गठबन्धन टुटाए एमसीसी पास गर्न सघाउने देउवालाई बचन दिएका छन् । शनिबार स्थानीय तह निर्वाचनबारे छलफल गर्न बोलाएको गठबन्धनको बैठकलगत्तै देउवाले एमसीसीबारे सरकारमा भएका चार दलका शीर्ष नेता र एमसीसी अध्ययनका लागि बनेको कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१