सकियो मन्त्रिपरिषद् बैठक, के- के गर्यो निर्णय ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७८, मंगलवार ०६:१६

काठमाडौँ । सरकारले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शिक्षामन्त्री देवेन्द्र पौडेले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताब पेश गरेका थिए ।

२१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । बिमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले यी ठाँउ प्रस्ताव गरेको हो ।

सरकारले शिक्षक अस्पताल स्थापनाको योजना अघि सारेपनि विज्ञहरुले पेशा पिच्छे स्वास्थ्य संस्था स्थापना गर्नु उचित नहुने भन्दै आलोचना गरेका छन् । सेना प्रहरी बाहेक निजामति कर्मचारीको अस्पताल हाल सञ्चालनमा रहेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्ति दिने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । ८ महिना पछि विश्वविद्यालयले महिला उपकुलपति पाएको हो । उनी विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो महिला हुन् । यसअघि सुदुरपश्चिम विश्वविद्यालयमा भुषण श्रेष्ठ पहिलो उपकुलपति बनेकी थिइन् ।

त्यस्तै अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले दंगाललाई सचिवामा बढुवा गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको विशिष्ठ श्रेणीको पद (सचिव)मा बढुवाका लागि ३ जना प्रथम श्रेणीका अधिकृत (सहसचिव)को नाम सिफारिस गरेको थियो।

समितिले सचिवमा बढुवाका लागि पहिलो नम्बरमा दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो। मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस भएका दंगाललाई सचिवमा बढुवा गरेको हो।

यस्तै नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुन्।

प्रतिक्रिया