भिजिट भिसाबाट दिनहुँ यूएई पुगेका १ सय ५० महिला कहाँ पुग्छन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७८, बुधबार ०६:४२

काठमाडौं । नेपालबाट दैनिक २ सय जनालाई विभिन्न व्यक्ति र म्यानपावर एजेन्टले भिजिट भिसामा यूएई पठाउने गरेका छन् । तीमध्ये कम्तीमा १ सय ५० जना महिला हुने गरेका छन् । त्यसरी यूएई पुगेका महिला अलपत्र पर्ने र मानव तस्करकाे जालाेमा पर्ने गरेकाे पाइएकाे छ ।

मानव तस्करले नै भिजिट भिसामा महिलालाई पठाइरहेका छन् । त्यसरी लगिएका महिला यूएईमा घरेलु काममा लगाइने गरेको पाइएको छ । सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाए पनि मानव तस्करले सेटिङ मिलाएर नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।

तस्करले अध्यागमन विभागका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीबीच सेटिङ मिलाएर भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । अध्यागमन विभागले त्यसरी सेटिङ मिलाउन सहयोग गरेको आशंकामा १५ जना कर्मचारीलाई सरुवासमेत गरेको थियो ।

भिजिट भिसाको सबै प्रक्रिया पुर्‍याएर आएका व्यक्तिलाई रोक्न नमिल्ने अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र अधिकारीले बताए । उनका अनुसार अध्यागमन विभागले शंका लागेका व्यक्तिलाई सोधीखोजी गरेर अनुसन्धानका लागि पठाउने गरेको छ । सबै प्रमाण पुर्‍याएर आएका व्यक्तिलाई रोक्न भने समस्या हुने उनको भनाइ छ ।

भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयले भने चासो देखाएको पाइँदैन । सम्बद्ध निकाय जानकार भए पनि भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेका छन् । यसरी खाडी मुलुक र मलेसिया पुग्ने नेपाली युवायुवती उतै बस्ने गरेका छन् । त्यसरी भिजिट भिसामा गएका धेरैजसाे अलपत्र र समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१