निजी क्षेत्रले कुनै पनि काम अघि बढाउन खोज्यो भने त्यहाँ धेरै तिरबाट अवरोध आउँछ: चन्द्र ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७८, सोमबार ०६:४१

चितवन। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट नीतिगत संरक्षण भए निजी क्षेत्रले छोटो अवधिमै आर्थिक विकासलाई परिणाममुखी बनाउने बताएका छन्।
चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको १३औं चितवन महोत्सवलाई आइतबार सम्बोधन गर्दै ढकालले निजी क्षेत्र र सरकारको लक्ष्य एउटै भए पनि सहकार्यलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए।

`निजी क्षेत्रले कुनै पनि काम अघि बढाउन खोज्यो भने त्यहाँ धेरै तिरबाट अवरोध आउँछन्,´ ढकालले भने, `निजी क्षेत्रले लगानी गरेर रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने नै हो तर हामीले प्रक्रियागत झमेला नै बढी बेहोर्नुपरिरहेको छ।´आइएमएई समूहका अध्यक्षसमेत रहेका ढकालले गैंडाकोटमा निर्माणाधीन केबलकारको भौतिक निर्माणभन्दा प्रक्रिया पूरा गर्न बढी समय खर्च भएकाे बताए। सरकारले नीतिगत सुधार र निजी क्षेत्रको संरक्षकत्व र अभिभावकत्व लिइदिने हो भने अपेक्षा गरिएभन्दा अगावै आर्थिक विकासलाई परिणाममुखी रुपमा अघि बढाउन आफूहरु सक्षम रहेको उनले दाबी गरे।

वागमती प्रदेशका मुख्यमन्त्री, भरतपुर महानगरपालिकाका प्रमुखलगायतका विशिष्ठ व्यक्तिहरु सहभागी समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले अघि सारेका आर्थिक गतिविधि बढाउने कार्यक्रमलाई संघीय, प्रादेशिक र स्थानीय सरकारले सहयोग गर्नु अपरिहार्य रहेको बताए।

`तीनवटै तहका सरकारले चाहेको रोजगारी वृद्धि, आर्थिक गतिविधि बढाउने कार्यक्रम नै हो,´ उनले भने, `निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार छ। सरकारले नीतिगत सुधार गर्ने हो भने छोटो समयमै आर्थिक गतिविधि बढाउन सकिन्छ।´

सबै तहका सरकारहरुले परम्परागत नियम कानुन परिवर्तन गर्ने आँट गर्नुपर्ने ढकालको धारणा छ। उनले निजी क्षेत्रलाई पनि लगानीमैत्री कानुन निर्माणका लागि निरन्तर दबाब दिइरहन सुझाव दिए। स्थानीय र प्रदेश तहमा जिल्लानगर र प्रदेश उद्योग वाणिज्य संघले जनप्रतिनिधिहरुलाई झकझकाउनुपर्ने र आफूहरुले संघीय सरकारलाई सल्लाह सुझाव दिने उनको भनाइ छ। कार्यक्रममा ढकालले चितवनलाई नेपालकै वृहत पर्यटकीयस्थल बनाउने प्रस्ताव समेत बताए। चितवनको अनुपम प्राकृतिक सौंदर्यलाई उपयोग गर्नुपर्ने र नेपालको मध्य भूभागमा रहेका कारण यहाँको पर्यटकीय सम्भावना बढी रहेको उनको भनाइ छ।

कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यस वर्ष आइतबारदेखि सुरु भएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१