देउवाको ओलीलाई आग्रह : संसदको अवरोध हटाएर एमसीसी पास गरौँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७८, आईतवार ०६:४२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

शनिबार प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट, भक्तपुर पुगेका हुन् । स्रोतका अनुसार भेटमा देउवाले संसदको अवरोध खुलाउन र एमसीसी पास गर्न आग्रह गरेका छन् ।

ओलीले भने जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन नभए अवरोध यथावत रहने बताएका छन् । बिहीबार बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि आज (शनिबार) प्रधानमन्त्री देउवा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।

संसद्को अवरोध हटाउनेबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन् ।

यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।

एमालेले एकीकृत समाजवादी पार्टीमा रहेका सांसदलाई सभामुखले कारबाही नगरेसम्म र एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकमा अवरोध गर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया