राष्ट्रिय सभा सदस्य चुनाव : वाग्मतीमा ६ जनाको उम्मेदवारी दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७८, बुधबार ०६:२५

मकवानपुर । राष्ट्रिय सभा सदस्य चुनावका लागि वाग्मती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आउँदाे माघ १२ गते हुने चुनावका लागि महिलातर्फ तीन जना र अन्यतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडाले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउनेमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दुई/दुई जना रहेका छन् । उनीहरूले आज मङ्गलवार हेटौँडा उपमहानगरपालिका ५ मा रहेकाे प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले र नेमकिपा एक्लाएक्लै चुनावमा उठ्दैछन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल (काठमाण्डाै) ले उम्मेदवारी दर्ता गराउनुभएकाे छ भने महिलातर्फको एक सदस्यका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । त्यस्तै चुनावका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर दर्लामी (सिन्धुली) ले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै चुनावका लागि नेमकिपाबाट कृष्णबहादुर तामाङ र महिलातर्फ भक्तपुरकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उनीहरूको उम्मेदवारी दर्ता गराउनुभएको वाग्मती प्रदेशका राष्ट्रिय सभा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयाे ।

आउँदाे फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि चुनाव हुन लागेको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारहरूको भोलि बुधवार २१ गते दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ ।

पुस २२ र २३ गते उजुरीमाथि जाँच गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम हुनेछ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने त्यही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । यस्तै माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ ।

मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभा गृहलाई मतदान स्थल तोकिएको छ । चुनावमा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रदेश सभा सदस्यसहित प्रदेशबाट तीन सय ४६ मतदाता रहेका छन् । जसमा एक सय नाै जना प्रदेश सभा सदस्य र दुई सय ३७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१