जाडोमा छालाको हेरचाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०६:४१

डा. धर्मेन्द्र कर्ण, छाला रोग तथा सौन्दर्य विशेषज्ञ ।

जाडो याममा कतिपयको हातखुट्टा औँला सुन्निने, चिलाउने, पोल्ने तथा फुटेर घाउ नै हुने गर्छ । यस्तो खालको समस्यालाई मेडिकल भाषामा चिलब्लेन्स अथवा पर्नियोसिस भनिन्छ । यस्तो समस्या हुँदा चिसोले हातखुट्टाका औँला तथा नाकको टुप्पो, कानको लोती सुन्निने हुन्छ । यी अंगमा रातो हुने, चिलाउने र घाउसमेत हुन सक्छ । यो समस्या साधारणतयाः बच्चा र ४० वर्षभन्दा माथिकामा बढी देखिन्छ । तर, यो समस्या जुनसुकै उमेरमा पनि देखिन सक्छ ।

जाडोमा शरीरका अत्यन्त चिसो हुने भाग जस्तैः हातखुट्टाका औँला, नाकको टुप्पो, कानको लोतीमा भएका रक्तनलीहरू साँघुरिन्छन् । जसले गर्दा ती भागमा रक्तसञ्चार कम हुन्छ । जब अचानक यी चिसो भागलाई न्यानो बनाउँदा वा तताउँदा रक्तनली एक्कासि खुम्चिन्छन् जसले गर्दा केही मसिना रक्तनली फुट्छ र आन्तरिक रक्तस्राव हुन्छ र ती भागमा रातो हुने, चिलाउने र पोल्ने हुन्छ ।

यस्तो समस्या विभिन्न अवस्थामा देखिन सक्छ । यो समस्या वंशानुगत पनि हुन सक्छ । महिलामा यो समस्या बढी देखिन्छ । बस्ने कोठा धेरै चिसो छ भने यस्तो समस्या बढी देखिन्छ । धेरै व्रत बस्ने, पानी कम पिउने व्यक्तिलाई यो बढी हुने गरेको पाइन्छ । यो समस्या प्रत्येक वर्ष दोहोरिएको छ भने छालाको बाथसँग सम्बन्धित हुन सक्छ । शरीरमा चिनीको मात्रा बढी र रगतमा बोसोको मात्रा धेरै छ भने पनि यो समस्याले बढी दुःख दिन सक्छ । यसलाई समयमै रोकथाम र उपचार गरिएन भने सुन्निएको रातो औँलाको भागहरू फुट्न सक्छ र घाउ हुन्छ । घाउ पाकेर हाडको इन्फेक्सन पनि हुन सक्छ ।

सुत्ने एवं बस्ने कोठा न्यानो बनाउनुपर्छ । सकेसम्म चिसोपानी चलाउनु हुँदैन । चलाउनै परेमा बाक्लो खालको रबरको पञ्जा लगाएर चलाउनुपर्छ । भेसलिन, पेट्रोलियमजेली वा लोसन लगाउनुपर्छ । त्यसपछि पञ्जा लगाएर हातलाई न्यानो राख्नुपर्छ । धेरै व्रत बस्ने गर्नुहुँदैन । न्यानो कपडा एवं पञ्जा तथा मोजा लगाउनुपर्छ । चिसो मौसममा एक घण्टाको फरकमा मुट्ठी कस्ने र छोड्ने गर्ने गर्नुपर्छ । सुगर र रगतमा बोसोको मात्रा नियन्त्रण गर्नुपर्छ ।

सम्पूर्ण शरीरलाई न्यानो बनाउनुपर्छ । धेरै चिसो भयो भन्दैमा एक्कासि तातो बनाउन हिटर वा ग्यास बालेर सेक्नु हुँदैन । हात तथा खुट्टाका औँला सुन्निने, चिलाउने, पोल्ने तथा फुटेर घाउ लक्षण देखिएमा तुरुन्त तातो बनाउने उपाय झन् बढी हानिकारक हुन सक्छ । लक्षण बढ्दै गएमा हाइ पोटेन्ट कोटीको स्टेरोइड औषधि सेवन गर्नुपर्छ । घाउ पाकेको छ भने एन्टिबायोटिकयुक्त मलम लगाउनुपर्छ । यति गर्दा पनि सुधार नदेखिएमा छालारोग विशेषज्ञसँग जँचाएर थप औषधि उपचार गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१