मुक्त कमैयाका बालबालिकाको विद्यालय छाड्ने दर उच्च

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ आश्विन २०७१, सोमबार ११:४४

कञ्चनपुर,  असोज १३ गते  । जिल्लाका मुक्त कमैयाका बालबालिकाको विद्यालय छाड्ने दर उच्च रहेको पाइएको छ । आर्थिक अभावका कारण बालबालिकाले विद्यालय छाड्ने गरेका हुन् ।

सरकारले पुनः स्थापना गराउँदा उपलब्ध गराएको घरबास जग्गाबाहेक कमाउने साधन नहुँदा मजदुरी गरेर मुक्त कमैयाले जीविका धान्दै आएका छन् ।

बालबालिकालाई विद्यालय पठाउनका लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाउन नसक्दा अधिकांशले विद्यालय पठाउन नसक्ने अवस्था रहेको मुक्त कमैया अगुवा राधेश्याम रानाले बताउनुभयो ।
प्राथमिक तह पार गरेका बालबालिकाबाट विद्यालयले शुल्क लिने गरेकाले शुल्क तिर्न नसक्दा विद्यालयबाट बालबालिकालाई छुटाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
मजदुरीका लागि अभिभावकले टाढाटाढा जानुपर्ने र बालबालिकालाई समेत सँगै लगेर जाने गरेकाले समेत धेरै बालबालिकाले प्राथमिक तहको शिक्षासमेत पूरा गर्न नसक्ने अवस्था रहेको छ ।

जिल्ला शिक्षा कार्यालयका उपसचिव पदमराज भट्टले मुक्त कमैयाका बालबालिकालाई विद्यालय भर्ना गरेर टिकाउन र तह पार गराउन गाह्रो रहेको बताउनुभयो ।

मुक्त कमैया परिवारका विद्यालय भर्ना हुने ६५ हजारमध्ये माध्यमिक तहमा पुगेर आठ हजारमै सीमित हुने गरेको उहाँको भनाइ छ । मुक्त कमैयाका बालबालिकाको विद्यालय शिक्षामा पहुँच अभिवृद्धिका लागि छुट्टै कार्यक्रमको खाँचो उहाँले औँल्याउनुभयो ।
शिक्षालाई शुल्करहित नबनाउँदासम्म मुक्त कमैयाका बालबालिकाको विद्यालय बीचमै छाड्ने दरमा कमी ल्याउन नसकिने बालबालिका तथा महिला विकास कार्यालयका भुवन चटौतले बताउनुभयो ।

मुक्त कमैयाका बालबालिकाको विद्यालय छाड्ने दरमा कमी ल्याउनका लागि अभिभावकको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१