अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने नेता रावललाई केपी ओलीको सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७८, आईतवार ०६:१८

काठमाडौं । अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने नेता भीम रावलको स्पोष्टिक्तपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बताउनु भएको छ ।

 

त्यसका लागि आफूले कमिटीको प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान नेताहरुलाई सुझाव दिएका हुन् ।

शनिबार चितवनको सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले कमिटीहरुको नाम प्रस्ताव गर्न अध्यक्ष ओलीलाई अधिकार दिने प्रस्ताव राख्नु भएको थियो । त्यसपछि हलमा सहभागी अधिकांश प्रतिनिधिले समर्थन गरेपनि नेता भीम रावलले विरोध गर्नुभयो ।

रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भन्दै पछि नहट्ने जनाउनुभयो । लगत्तै रावललाई जवाफ दिएका ओलीले सकेसम्म सहमति गर्नु राम्रो भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुने स्पष्ट पार्नुभएको हो । नेता रावलप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ ।’

ओलीले थप्दै भन्नुभयो, ‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने ? मनोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’

सहमति वा प्रतिस्पर्धाको विधि दुबै निर्वाचन भएको भन्दै ओलीले कसैको अधिकार नखोसिने, कुनै विधान नमिचिने भन्दै अधिकारको उपभोग गर्न पाइने उल्लेख गर्नुभयो ।

आइतबार १० बजे सुरु हुने बन्दसत्रमा ओलीले पदाधिकारी र कमिटीमा रहनेहरुको नाम प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया