बागमती प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनबाट राजेन्द्र पाण्डेको दाबी पेस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०७८, बिहीबार ०५:०८

काठमाडौँ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । नेता पाण्डेले ५९ सांसद्को समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सहितका सांसद्को समर्थनमा दाबी पेस गरेका हुन् । बागमतीमा बहुमत पुर्याउन ५५ सांसद् भए पुग्छ ।

प्रदेश प्रमुख शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गनै आह्वान गरेका थिए ।

नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १(ख) बमोजिम प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाएकी थिइन् । उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलबाट मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा दाबी पेस गरेका एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डेको पक्षमा ५९ जना सांसद् छन् । जसमा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया