यस्तो छ गणेश थापामाथिको ५८ करोड घोटालाको हिसाबकिताब

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ आश्विन २०७१, सोमबार ०७:०२

Ganesh-Thapasकाठमाडौँ ,१३ असोज । नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान २० वर्षदेखि सार्वजनिक ओहदामा छन्।
नेपाली फूटबलको बागडोर सम्हालीे अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्षको रुपमा दुईदशक व्यतित गरेका थापा यतिबेला भ्रष्ट्राचारको अभियोगमा मुछिएका छन्।

प्रधानमन्त्री, मन्त्री जस्तो ‘हाइप्रोफाइल’ ओहोदामा नपुगेपनि संसदीय समितिले यिनीमाथि लगाएको आरोप मुलुकका धेरैजसो घोटालाहरुलाई उछिन्ने आँकडाको छ।

अदालतबाट नै भ्रष्टाचारी ठहरीएका पूर्व मन्त्रीहरु खुमबहादुर खड्का, चिन्जीवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकास प्रसाद गुप्ता मात्र होइन अकुत सम्पत्तिका सबै कसुरदार र सुडान घोटाला प्रकरणको योगफल पनि थापालाई लागेको आरोप जति हुदैन। उनीमाथि एन्फालाई आर्थिक र सांगठनिक पद्दति विपरित सञ्चालन गर्दै ५८ करोड हिनामिना गरेको आरोप छ। भलै यसको सरकारी निकायले अनुसन्धान गरेर अदालतबाट ठहर नगरेसम्म आधिकारिक हुँदैन।

लेखाको अनुसन्धान चलिरहेकै बेला राप्रपा नेपालले थापालाई मन्त्रिपरिषदबाट सभासद मनोनित गरायो। दाजु कमल थापा अध्यक्ष रहेको पार्टीबाट संसदमा छिरेर छानविनलाई प्रभावित गर्न खोजेको आरोप लाग्यो।

तर लेखा सदस्यहरुले थापाको सभासद पद खोस्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने कसरत गरिरहेका छन्।

‘आज समितिको बैठकमा प्रधानमन्त्री सुशील कोइराला समक्ष थापालाई सभासद पदबाट फिर्ता बोलाउन आग्रह गर्ने निर्णय समितिले गर्नु पर्ने प्रस्ताव राखेको छु तर निर्णय हुन बाँकी छ’, समिति सदस्य रामहरि खतिवडाले बताए।

१५ वर्षभन्दा लामो अवधि ११ नम्बरको जर्सीमा राष्ट्रिय टिममा आवद्ध भएर मुलुकको प्रतिष्ठाका लागि पसिना बगाएका यी खेलाडीमाथि सार्वजनिक लेखा समितिले विगत ६ महिनादेखि अनुसन्धान गरिरहेकेा थियो।

आइतबार बसेको लेखा समितिको बैठकले उनीमाथि लगाएको आरोपको मोटामोटी हिसाबकिताब यस्तो छ।

थापाले एकलाख १५ हजार डलर र उनका छोरा गौरव थापाले एकलाख डलर एएफसि अध्यक्षसँग किन र कुन उद्देश्यका लागि लिएको भन्ने पुष्टी थापाले लेखा समितिको बैठकमा गर्न नसकेको आरोप समितिले लगाएको छ।

त्यसैगरी गोलप्रोजेक्टको नाममा उनले लिएको १७ करोड ४८ लाख ७० हजार रुपैयाको हिसाब कहि पनि अडिट नगाराएको आरोप छ।

एएफसीबाट २०६३ सालदेखि हालसम्म सात वर्षको अवधिमा प्रतिवर्ष एक लाख ८० हजारका दरले कुल १२ लाख ८० हजार डलर लिए पनि त्यसको हिसाब किताब कहि पनि नदेखाएको आरोप उनीमाथि लागेको छ।

केही समयअघि नेपालमा सम्पन्न साफ खेलकूदमा दर्शकहरुको प्रबेश शुल्कबाट थापाले ९० लाख रुपैया आम्दानी भएको देखाएको भएपनि टिकट बिक्री व्यवस्थापन प्रमुख सुनील कपालीबाट त्यसबेला दुइ करोड रुपैया आम्दानी भएकोे जानकारी समितिले प्राप्त गरेको छ।

त्यसैगरी विगत पाँच वर्षदेखि अहिलेसम्म दशरथ रंगशालामा दर्शकहरुले प्रवेश गर्दा बुझाएको २१ करोड रुपैया पनि हिनामिना भएको आरोप समितिले लगाएको छ।

त्यस अतिरिक्त थापाले नेपाल टेलिभिजनकी समाचार वाचिका बन्दना राणाको नेतृत्वमा रहेको साथी नामक संस्थालाई विगत ६ वर्षदेखि प्रतिवर्ष २५ हजार डलरका दरले हालसम्म एक करोड ५० रुपैया संस्थाको कुनै निर्णय विना दिएको आरोप लागेको छ।

त्यसैगरी २०६१ सालदेखि राज्यको तर्फबाट एक उत्कृष्ट खेलाडीलाई २० लाख रुपैयाको दरले पुरस्कार प्रदान गर्ने निर्णय भएपनि सो रकम जम्मा ५ जनाले मात्रै पाएका छन्। हालसम्म हरि खड्का, उपेन्द्रमान सिंह, राकेश श्रेष्ठ, रितेश थापा र सागर थापाले उक्त पुरस्कार प्राप्त गरेका भए पनि बाँकी ५ जना खेलाडीलाई सो पुरस्कार नदिइ रकम हिनामिना गरेको आरोप पनि लागेको छ।

साथै उत्कृष्ट फूटबल खेलाडीलाई राजधानीमा अपार्टमेन्ट प्रदान गर्ने घोषणा गर्दै त्यसको लागि आवश्यक रकम चुक्ता भएको उल्लेख गरिएको भएपनि अहिलेसम्म कुनै खेलाडीले अपार्टमेन्ट नपाएको समितिले जनाएको छ।

समितिको बैठकले उनीमाथि सरकारबाट प्राप्त रकमको हिसाबकिताब पनि पारदर्शी ढंगले नराखेको, एन्फाको भवन निर्माण तथा सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अनुसार नगरेको लगाएतका १६ बुँदे आरोप लागेको छ।

रकमको विवरण
एएफसी अध्यक्षबाट थापाले १ लाख १५ हजार डलर र उनका छोरा गौरवले एक लाख डलर लिएको
गोलप्रोजेक्ट अन्र्तगत सन २००१ मा ४ लाख डलर पहिलो किस्ता,
सन २००४ मा ५ लाख डलर, सन २०१० मा ४ लाख डलर र सन २०१२ मा ५ लाख गरी जम्मा १८ लाख डलर ( जम्मा १७ करोड ४८ लाख ७० हजार) लिएका।
एफसीबाट २०६३ सालदेखि हालसम्मको ७ वर्षको अवधिमा प्रतिवर्ष एक लाख ८० हजारका दरले कुल १२ लाख ८० हजार डलर लिए पनि हिसाबकिताब कहि नदेखाएको
साफ खेलकूदको टिकटबाट दुइ करोड आम्दानी भएपनि जम्मा ९० लाख रुपैया मात्रै देखाएको
विगत ५ वर्षको अवधीमा रंगशाला छिर्दाको रकम २१ करोड रुपैया हिनामिना गरेको
बन्दना राणाको साथी नामको संस्थालाई विगत ६ वर्षदेखि प्रतिवर्ष २५ हजार डलरका दरले दिएको

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१