रुपा सुनारमाथि ‘जातीय विभेद’ गर्ने घरबेटीलाई १ लाख १५ हजार धरौटी तिर्न अदालतको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७८, बिहीबार ०५:३९

काठमाडौँ । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौँले एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको हो ।

सरकारी वकिल कार्यालयले केही दिनअघि नै मुद्दा दायर गरे पनि बुधबार मात्रै घरबेटी प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आरोप लागेको थियो ।

त्यसपछि सुनारले प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । सुनारले जाहेरी दिएपछि प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो । तर, तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमेतको दबाबमा उनी थुनामुक्त भएकी थिइन् ।

पछि सुनारले घरबेटी प्रधानसहित तत्कालीन शिक्षमन्त्री श्रेष्ठलाई समेत विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । रुपाको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारको जाहेरीका सन्दर्भमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१