वडा अधिवेशन भएका जिल्लामा कांग्रेसको पालिका अधिवेशन ९ असोजमा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७८, बिहीबार ०५:३५

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशिल सदस्यता विवाद भएका जिल्लामा असोज ९ गते पछिमात्र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद रहेका स्थानमा विवाद टुङ्ग्याउदै पार्टीको निर्वाचन समितिले उपयुक्त समयमा केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि तोकिएको समयमा नै वडा अधिवेशन भएको स्थानमा असोज ९ गतेका लागि निर्धारित पालिकास्तरको अधिवेशन हुने र अन्य जिल्लाको हकमा पार्टीको निर्वाचन समितिले आवश्यक निर्णय गरेर मिति तोक्ने सहमति भएको जानकारी दिए ।

दसैँअघि बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति बैठकमा भएको उनले बताए । त्यस्तै प्रवक्ता शर्माले अधिवेशन अवरुद्ध भएका स्थानमा सहमतिका साथ नै अघि बढाइने जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक विषयमा मात्र छलफल भएको र मन्त्रिपरिषद् विस्तारमा बारेमा औपचारिक छलफल नभएको उनले बताए ।

त्यस्तै बैठकपछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार गठन वा पार्टीको विषयमा पार्टी सभापतिले सबैसँग सल्लाह नै गरेर अघि बढेको बताए । त्यस्तै उनले जिल्लामा रहेका नेता तथा कार्यकर्ताको भावना अनुसार नै दसैँ अगाडि नै जिल्ला तहसम्मको अधिवेशन टुङ्गाउनुपर्नेमा आफ्नो जोड रहेको बताए ।

कांग्रेसले प्रदेश र जिल्ला अधिवेशन पनि दसैँपछि गर्ने निर्णय गरेको छ । यसअघिको कार्यतालिकामा असोज १२ गते प्रदेश निर्वाचन क्षेत्र र १५ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१