नेपाल पक्षलाई ओलीले भने- ‘आममाफी भयो, आउनुस् मिलेर काम गरौँ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७८, शुक्रबार ०५:१२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

‘जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं’, ओलीले भने ।

अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न ओलीले आह्वान गरेका छन् । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गरे । ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ’, ओलीले भने ।

आफ्नो सरकारलाई हटाउन कोशिस गरेको र अदालतले बाटो सहज बनाइदिएको तर्क गरे । अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसद्मा एमाले प्रमुख पार्टी रहेको र यसले जहिले पनि अग्रगामी विचार लिने उनले बताए । उनले कम्युनिष्टलाई मजबुद बनाउनका लागि पुष्पलालले रोपेको बिरुवालाई मर्न नदिने स्पष्ट पारे ।

पुष्पलालले रोपेको बिरुवालाई मदन भण्डारीले स्याहारसुसार गरेर वैचारिक ढंगले अद्यावधिक, प्रवलीकरण गरेर अगाडी बढेको भन्दै उनले अव आफुहरुले यसलाई थप मजबुद बनाउने जिकिर गरे । कार्यक्रममा एमाले नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

प्रतिक्रिया