७ घण्टाको छलफलले एमालेमा जुट्यो सहमति, औपचारिक घोषणा भोलि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७८, शनिबार ०५:०७

काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले विवादित बिषयमा सहमति जुटाएको छ । करिव ७ घण्टा अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले लामो समयदेखिको अन्यौलता पश्चात सहमति भएकाे हो ।

सहमतिबारे भने नेताहरूले केही खुलाएनन् । सिंहदरबारमा शुक्रबार बसेको बैठकले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि सहमति जुटाएको हो ।

सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

झण्डै सात घन्टाको बैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेको उनले बताए । त्यस्तै उनले सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि शनिबार बैठक बस्ने जानकारी दिए । उनले सहमतिका बुँदा थाहा पाउन केही समय कुर्न आग्रह गरे ।

त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै बिषयमा सहमति जुटेको बताए । उनले भने, आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषयमात्र बाँकी छ भोलि सहमतिमा पुग्छौं । समय अभावका कारण एकाध बाँकी रह्यो ।’

केही बिषयमा शनिबार छलफल हुने उनले बताए । उनले लगभग सहमतिमा पुगेको जानकारी दिए । एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनदेखि निरन्तर छलफलमा छ ।

प्रतिक्रिया