ओली-माधव छलफलमा सहमति जुटेन, कार्यदलमा अझै छलफल गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०७८, बिहीबार ०५:१०

काठमाडौं । नेकपा एमालेमा पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज राति छलफल भएको छ । दुबै नेताहरुबीचकाे छलफलबाट कुनै नतिजा ननिस्किएकाे बताइएको छ ।

बैठकमा एमाले विवाद समाधानका लागि बनाएको कार्यदलमा भएका छलफलका बिषयहरु बारे चर्चा भएको बैठक पश्चात एमाले नेता भीम रावलले सञ्चारकर्मीहरुलाई बताए । उनले विषयहरु उठेका तर अझै छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए । त्यसैगरि अर्का नेता सुरेन्द्र पाण्डेले छलफलमा कुनै टुङ्गो नलागे पनि छलफल जारी राख्ने र टुङ्गोमा पुग्ने जानकारी दिए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैली र सरकार सञ्चालनमा देखिएका विषयहरुमाथि एमालेमा विवाद रहेको छ । पछिल्लो चरणमा नेता नेपाल विपक्षी गठबन्धनमा सहभागी भएपछि नेताहरू एकअर्काबीच गालीगलाैजकै तहमा उत्रिएका छन् ।

नेता नेपाल प्रधानमन्त्रीको राजीनामा नआएसम्म पछाडि नहट्नेमा आफू दृढ रहेको बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफ्नाे पार्टीका वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले टोकेको छ र भन्दै प्रश्न गरेका थिए ।


प्रतिनिधि सभा विघटनको मुद्धामा यही असार २८ गते फैसला हुने बताइएको छ । फैसला अघि माधव पक्षलाई ‘फकाउन’ प्रम ओलीले कुनै कसर बाँकी नराख्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार सहमति भएपछि ओलीले त्यसलाई पालना नगर्ने विगतको अनुभव रहेको छ । तत्कालिन नेकपामा अर्का अध्यक्ष प्रचण्डसँग बारम्बार भएका सहमतिमा हस्ताक्षर गरेर त्यसलाई उल्टाउने गरेको आरोप ओलीलाई लाग्ने गरेको छ ।

प्रतिक्रिया