काठमाडौँ । संसद विघटनसम्बन्धी रिटको फैसला आउनु अघि नै एमाले विवाद समाधानको प्रयास भइरहेको अवस्थामा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।
निधन भएका पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जलि दिन जनकपुर पुगेर फर्किएका प्रचण्ड विमानस्थलबाट सोझै नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेट भएको तर कुराकानीका विषय भने जानकारी नभएको जानकारी दिए ।
एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेका बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तुष्ट नेता नेपाल पछिल्लो समय कांग्रेस–माओवादीसहितको विपक्षी गठबन्धनमा आबद्ध भएका छन् ।
नेता नेपालले पार्टी एकताको सम्भावना टरेको बताउँदै आएपनि एमालेका दोस्रो तहका नेताहरू भने एकता जोगाउन सक्रिय बनेका छन् ।
प्रतिक्रिया