पाँच दलीय गठबन्धनको बैठकमा आगामी रणनीतिबारे छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०७८, मंगलवार ०४:४०

काठमाडौं । पेशागत संगठनका पदाधिकारी तथा विभिन्न क्षेत्रका वुद्धिजीविसँगको छलफल पश्चात पाँच दलीय विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार साँझ छलफल भएको छ । संघीय संसदको एक कक्षमा भएको उक्त छलफलमा आगामी कार्ययोजनाका बारेमा छलफल भएको नेपाली काँग्रेस स्रोतले जनाएको छ ।

विपक्षी पाँच दलीय गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार गरेका प्रतिनिधि सभा विघटनका बारेमा समाजका विभिन्न पेशा, व्यवसाय, नागरिक समाज, पत्रकारहरुसँग छलफल गर्दै आएका छन् । ती दलहरुले प्रम ओलीका कदमका बारेमा आफ्ना धारणा सुनाउने र सुझावहरु लिने गरेका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सरकारी पक्षको आजबाट बहस सुरु भएको छ । अदालतमा परेको रिटका सम्बन्धमा दलहरुले कुनै टिप्पणी नगरे पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबालाई प्रधानमन्त्री तोक्ने परमादेश हुनसक्ने संवैधानिक व्यवस्था रहेको भन्न भने छोडेका छैनन् ।

आजसम्म भएका छलफलमा गठबन्धनका दलहरुलाई सुझाव दिनेहरुले प्रम ओलीले झैं विधि र प्रक्रिया लत्याई सरकार सञ्चालन नगर्न भनेका छन् । दलहरुलाई विधि र प्रक्रियामा आगामी सरकार सञ्चालन गर्न उनीहरुको सुझाव छ । दलहरुले पनि आफूहरु संविधान र कानूनको पूर्ण पालना गर्दै आगामी सरकार सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पाँच दलीय विपक्षी गठबन्धनले असार १६ गते नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् । यसअघि उनीहरुले विभिन्न सञ्चारमाध्यमका सम्पादक र रिपोर्टरहरुसँग छलफल र अन्तर्क्रिया गरी सकेका छन् ।

प्रतिक्रिया