उपत्यकामा निषेधाज्ञा एकसाता थप्ने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७८, आईतवार ०४:४९

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनले भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकलोको छ ।

निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि केहि क्षेत्रमा भने खुकुलो बनाइने भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले कुन-कुन क्षेत्रलाई खुकुलो तुल्याउने र कुन-कुन क्षेत्रलाई कडाइ गर्ने भन्ने बारे निर्णय नभैसकेको बताए ।

आइतबार बेलुका बस्ने उपत्यकाका तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै थप आदेशहरु जारी गर्ने भएका छन् । सार्वजनिक यातायात खुलाउन दबाब आइरहेपनि तत्काल खुला गर्ने आफूहरुको तयारी नरहेको ललितपुर सीडीओ निरौलाले बताए ।

‘सार्वजनिक यातायात खुलाउन हामीलाई दिनहुँ यातायात व्यवसायीको डेलिगेसन आइरहेको छ’ उनले भने ।, ‘तत्काल खुला गर्ने हाम्रो योजना छैन तर, एकदुई दिनको संक्रमण दर हेरेर निर्णय लिन्छौं ।’ निषेधाज्ञा खुकुलो भएको समयमा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले अझै कडाइ पनि गर्नुपर्ने हुनसक्ने उनले बताए ।

काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले पनि सार्वजनिक यातायात खुलाउन आफूहरु सकारात्मक रहेपनि हतार नगर्ने बताए । ‘स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर यसबारे निर्णय हुन्छ तर, तत्काल खोलिहाल्ने हाम्रो तयारी छैन’ पराजुलीले भने । अहिलेको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म कायमै छ ।

‘अहिलेको अवस्थामा काठमाडौं उपत्यकामा यातायात खुलाउन सकिँदैन । जस्तै कञ्चनपुर जिल्ला ठूलो छ र त्यहाँको सक्रिय संक्रमित संख्या २२५ छ भने त्यहाँ खुलाउन सकिन्छ’ प्रवक्ता पौडेलले भने, ‘काठमाडौं उपत्यकाको पजेटिभिटी दर अझै उच्च छ ।’

काठमाडौं उपत्यकाको संक्रमण दर १० प्रतिशतमा झरे चरणवद्ध रुपमा विभिन्न क्षेत्रहरु खुलाउन सकिने र ५ प्रतिशतमा झरे सार्वजनिक यातायात र विद्यालय खुलाउने आफूहरुको तयारी रहेको उनले जनाए ।

प्रतिक्रिया