ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७८, शुक्रबार ०५:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहने बताएका छन् ।

सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा आन्तरिक राजनीतिक समस्या नरहेको बताए । विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा हुने प्रचण्डको भनाई छ । ‘कांग्रेस, जनमोर्चा र हामीमा समस्या छैन । माधवजी र उपेन्द्रजीहरुलाई परेको अप्ठ्याराहरुमा हामी संगै छौं। त्यसलाई गठबन्धनले साझा रुपमा लिन्छ’, उनले भने ।

यस्तै प्रचण्डले विपक्षी दलहरुको गठबन्धन दीर्घकालीन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने प्रचण्डको भनाई छ ।

संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताको पक्षमा उभिन गठबन्धनमा रहेका सबै दलबीच न्यूनतम सहमति बनेको भन्दै अध्यक्ष प्रचण्डले सरकार बनाउन वा एउटा निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको स्पष्ट पारे। ‘एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहन्छ’, उनले भने ।

नेपालको भूराजनीतिक जटिलताका कारण यसको आफ्नै समस्या भएपनि राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षा गठबन्धनको साझा एजेण्डा रहेको प्रचण्डले बताए । प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी शक्तिसंग मिलेर वामपन्थी सिध्याउन लागेको आरोप लगाएको भन्दै उनले प्रतिवाद गरे ।

‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ । कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ । त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन’, उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१