नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
नेपाली कांग्रेस पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलासले गत चैत्र २४ गते वडा कार्यलयवाट रहस्यमय ढंगबाट हराईएको भनिएको सामाजिक सुरक्षा भत्ता वापतको ५० लाख र राजस्व संकलन मार्फत जम्मा भएको ३ लाख गरि ५३ लाख रुपैयाँको हराएको लामो समय भएपनि दोषी पत्ता नलागेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
झण्डै तीन महिना बितिसक्दा पनि प्रशासनले दोषि पत्ता लगाउन नसक्नु र गतबर्ष मंसिरदेखि सामाजिक सुरक्षा भत्ताबापतको रकम बृद्धबृद्धाहरुले पाउन नसकेको भन्दै वडा कार्यालयमा ताला लगाइएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला कमिटि सदस्य बैकुन्ठ मिश्रले बताए ।
उनले लामो समयदेखि वडामा सामाजिक सुरक्षा वापतको रकम नपाएर पिडित भएका बृद्धबृद्धा ,एकल महिला अल्पसंख्यक लगायतले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएको कारणले वडा कार्यालयमा ताला लगाउनु परेको बताए ।
यस्तै वडा कार्यालयबाट ५३ लाख श्रपैयाँ हराएको लामो समय भएपनि दोषी पत्ता नलाग्नु तथा दोषि पत्ता लगाई दोषिलाई कार्वाहीको माग र सामाजिक सुरक्षा भत्ता तत्काल वितरण गर्न प्रशासनलाई दबाब दिन वडा कार्यालयमा ताला लगाइएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले जानकारी दिए ।
उनले आजको मितिदेखि दोषि पत्ता लगाई कारवाही र सामाजिक सुरक्षा भत्ता उपलब्ध नभएसम्म अनिश्चितकालीन तालावन्दि गर्न बाध्य भएको बताए ।
प्रतिक्रिया