के हो ‘स्मार्ट लकडाउन’ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७८, शुक्रबार ०५:०७

काठमाडौं । सरकारले अब ‘स्मार्ट लकडाउन’ गर्ने तयारी गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको हो ।

समितिले अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष निकालेको हो ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढने गरी हवाई उडान सञ्चालन हुने बताइएको छ ।

वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।

यस्तै गरीगैर आवासीय नेपालीहरु बाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

कोभिड नियन्त्रणका लागि सबै भन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइ रहेको आगामी साउनदेखि लगाउन थालिने बताए । त्यसबाहेक अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने उनले बताए । कोभिड १९ कुनै एक निकायकको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए ।

खासमा के हो स्मार्ट लकडाउन ?
कोरोना संक्रमण थपिँदै गएपछि त्यसलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेबाट देशभर लकडाउन सुरु गरेको हो । लकडाउनको समयमा मानिस घरबाट बाहिरसम्म निस्किन पाएनन् । त्यसको एक वर्षपछि फेरि दोस्रो लहरको कोरोना संक्रमण फैलियो । अहिले काठमाडौं उपत्यका लगायत देशका ७५ जिल्लामा निषेधाज्ञा जारी रहेको छ । तर, फेरि लकडाउन, निषेधाज्ञापछि ‘स्मार्ट लकडाउन’ गर्ने सरकारको तयारी छ ।

दोस्रो पटक बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गरेसँगै यसको चर्चा चुलिएको छ । यस्तै बुधबारको बैठकले वैदेशिक रोजगारीको लागि विदेशमा गएका र अलपत्र रहेका नेपालीहरूलाई फिर्ता ल्याउनको लागि हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । टर्की, कतार, साउदी अरेबिया, मलेसिया, युएई, जापान जस्ता राष्ट्रमा गएका नेपालीहरूलाई फिर्ता ल्याउन यस्तो निर्णय गरिएको हो ।

‘निषेधाज्ञा र लकडाउनभन्दा अर्को विकल्प हो स्मार्ट लकडाउन । यसमा मानिसले केही सहज अनुभूति गर्छन् । सबै क्षेत्रमा बन्देज लगाइएको हुँदैन, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुख पूर्वरथी बालानन्द शर्माले भने ।

लकडाउन गर्दा सार्वजनिक तथा निजी यातायात सबै बन्द गरिएको थियो । निषेधाज्ञामा भने केही सवारी साधनलाई खुकुलो बनाइएको थियो । त्यसपछि कोरोना संक्रमण कम हुँदै जाँदा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरियो । जोरबिजोर प्रणाली अनुसार करिब आधा सवारी साधनमात्र सडकमा देखिएका थिए । तर, अब यहि प्रक्रिया स्मार्ट लकडाउनमा फरक हुने बताइएको छ ।

अब जोरबिजोर नभएर सवारी अन्तिम सङ्ख्याको आधारमा निर्धारण गरिने बताइको छ । सवारीको अन्तिम सङ्ख्या ० देखि ९ सम्म हुन्छ । त्यसलाई वर्गीकरण गरेर ० देखि ३ सम्म आइतबार, ४ देखि ७ सम्म सोमबार ८ र ९ बुधवार जस्तै गरेर सञ्चालनमा ल्याउन तयारी गरेको छ ।

त्यस्तै, अन्य व्यापार व्यवसाय पनि स्मार्ट लकडाउनमा खुल्ला हुनेछन् । अहिले जस्तो अत्यावश्यक, खाद्यान्न लगायत पसलहरूमा मात्र खुला हुनेछैन । समितिले तयार पारेको स्मार्ट लकडाउन मोडिलाटी अनुसार सबै पसलहरू खुल्ने छ । तर, समय निर्धारण गरिनेछ । जस्तो खाद्यान्नलाई ९ बजेसम्म, लत्ताकपडा, इलेक्ट्रिक पसल १० देखि १२ बजेसम्म, हार्डवेयर पसल तथा अन्य पसलहरू १ देखि ४ बजेसम्म गरेर पसलको वर्गीकरण गरेर खोलिने बताइएको छ ।

स्मार्ट लकडाउनको अर्को मोडालिटीमा अनलाइन व्यापारहरूलाई पनि प्रोत्साहन गर्ने बुझिएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा अझै प्रभावकारी देखिएको खण्डमा स्मार्ट लकडाउन नलगाएर निषेधाज्ञालाई नै प्राथमिकता दिने विषयमा समेत छलफल भइरहेको एक अधिकारीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१