अरुका घरमा बिरलै जाने देउबा किन गए माधव निवास ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७८, मंगलवार ०५:१२

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउबा हम्मेसी अरुका घरमा बैठकका लागि नधाउने नेता हुन् । सोमबार साँझ काठमाडौंको उत्तरी भेग बुढानीलकण्ठ निवासी उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई डाकी एमाले वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वर आए । आफ्ना विश्वासपात्रका रुपमा रहेका काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का लिएर उनी कोटेश्वर आएका हुन् । सोमबारको भेटबारे आधिकारिक कुरा बाहिर नआएपनि छलफल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने रणनीतिका बारेमा छलफल भएकाे बताइएकाे छ ।

सोमबार भएको तीन शीर्ष नेताहरुबीचको छलफलमा सभापति देउबाले प्रधानमन्त्री ओलीलाई पार्टी भित्रबाटै अपदस्त गर्ने योजनामा नेता नेपाललाई दह्रोसँग खुट्टा टेक्न आग्रह गरिएको एमाले निकट स्रोतले जनाएको छ ।

उक्त छलफलमा सभापति देउबा र अध्यक्ष प्रचण्डले नेता नेपाललाई आफ्नो ‘लाइन क्लियर’ गरेर पार्टीमै संघर्ष गर्न सुझाएका थिए । आफ्नो ‘लाइन क्लियर’ गर्दा नेपाल पक्षका नेताहरु पनि ढुलमुलेपन नदेखाउने बरु ओलीतिर कि नेपालतिर भन्ने छिनोफानो हुने हुनाले दुबै नेताले नेपाललाई त्यसप्रकारको सुझाव दिएको बताइएको छ ।

केही समय पछि बस्ने ओली समूहको स्थायी समितिको बैठकमा नेपाल पक्षका नेताहरु सहभागी हुने कि नहुने भन्ने निर्क्योल पनि नेपालको अडानमा भरपर्ने स्रोतको दाबी छ ।

बैठकमा शीर्ष नेताबीच समयसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको थियाे। नेताहरूले सरकारले संवैधानिक निकायहरूका काम प्रभावित गर्न अपनाएका रबैयाका बारेमा पनि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया