ओलीको प्रस्ताव इमान्दार एकताको प्रयत्न मान्न सकिँदैनः नेता गौतम (विज्ञप्तिसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७८, बुधबार ०५:०६

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि गरेको पार्टी एकताको प्रयासलाई इमान्दार एकताको प्रयत्नका रुपमा मान्न नसकिने बताएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्विकार पनि गर्न सकिन्छ भन्ने रहेको उल्लेख गर्दै त्यसलाई इमान्दार एकताको प्रयत्न मान्न नसकिने बताएका हुन् ।

उनले ओलीद्वारा जारी वक्तव्यमा आफ्नै प्रंशसा लगाएत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको पनि आरोप लगाएका छन् ।

मितिः २०७८/०२/२५
प्रेस विज्ञप्ति
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री क.केपी ओलीले यही जेठ २३ गते राती जारी गर्नुभएको पार्टी एकता आह्वान सम्बन्धि वक्तव्यका सम्बन्धमा छलफल गर्न हिजो मिति २०७८ जेठ २४ गते अपरान्ह पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिका उपलब्ध कमरेडहरुका वीच विद्युतीय माध्यमबाटबैठक बस्यो । उपस्थित सबै कमरेडहरुले अत्यन्त गम्भीरतापूर्वक छलफलमा भाग लिनुभयो । छलफल पछि निकालिएका निश्कर्षहरु सार्वजानिक जानकारीका लागि प्रकासित गरिएको छः–

१.क.अध्यक्षले वक्तव्यमा आफ्नै प्रंशसा लगाएत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा “नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।” भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ । तर सोही बुँदामा एकताको पक्षमाउभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ । त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्विकार पनि गर्न सकिन्छ भन्ने हो जस्लाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न ।
२. बुँदा नं ४ मा २६ जनाले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिनेविषय उल्लेख गरिएको छ । यो समस्या गत पुष ५ गते अविश्वासको प्रस्ताव लैजाने प्रयत्न र त्यसलाई जवाफ दिन प्रतिनिधिसभाको विघटनपश्चात पक्ष विपक्ष बनेर गरिएका जन पदर्शनहरु, २०७७ फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापना, फागुन २३ गते नेकपा विभाजन र नेकपा (एमाले) को पुनस्र्थापना अनि विश्वासको मत लिन प्रधानमन्त्रीको असफलता तथा उहाँनै ठूलो पार्टीको नेताको हैसियताले निरन्तर प्रधानमन्त्री साथै २०७८ बैसाख ६ गते संविधानको धारा ७६ को उपधारा (३) को प्रधानमन्त्रीद्वारा पुनः प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा र त्यस पछि प्रतिनिधिसभा विघटन विरुद्ध दर्जनौं रिट निवेदन सर्वोच्चमा पर्नेसम्मका घटनाहरुको सन्दर्भमा नेकपा (एमाले) का २६ जना प्रतिनिधिसभा सदस्यहरुले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर समावेश भएको छ । यो घटना पार्टी अध्यक्ष प्रधानमन्त्री क. केपी ओलीका अनेकौं विवाददित क्रियाकलापहरु र झलनाथ–माधव समूहका क्रियाकलापहरु एक अर्कासंग सम्बन्धित भएर आएका छन्। यसले हाम्रो पार्टीज्यादै पेचिलो अन्तरपार्टी संघर्षलाई व्यक्त गरेको छ । यी सबैलाई पुनःएकतावद्ध भए पछिको पार्टी कमिटीको बैैठकबाट मात्र समाधान गर्न सकिनेछ । पार्टी एकता पछि दुबै पक्षले नेपाली जनताका अगाडि आफ्ना कमिकमजोरी बारे व्यवस्थित आत्मालोचना गरे पछि वास्तविक समाधान हुने आशा गर्न सकिन्छ । यो समस्या समाधान पछि हामीले संसारभरीका क्रान्तिकारीहरुका निम्ति नयाँ सन्देशदिन पनि सक्नेछौं ।

३. तद्नुसार छिटोभन्दा छिटो२०७५ जेठ २ गते कायम रहेको नेकपा(एमाले) को दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्षतथा प्रधानमन्त्री क.केपी ओली समक्ष हार्दिक अनुरोध गर्दछ ।

४. सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरीछलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ ।

५. पार्टी एकता राष्ट्रिय अभियानको यो बैठक विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमित भई निधन भएका केन्द्रीय सदस्य क.डम्बर थापा लगायतका अन्य कमरेडहरु तथा यस अवधिमादिवंगत हुनुभएका सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

वामदेव गौतम
उपाध्यक्ष
नेकपा(एमाले)
संयोजक
पार्टी एकता राष्ट्रिय अभियान

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१