कोरोनाले श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीलेपनि डोरीमा आफ्नो जीवन सुम्पिइन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७८, सोमबार ०५:०९

धनगढी । कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलालेपनि डोरीमा आफ्नो जीवन सुम्पिइन् ।

डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले डोरीमा आफ्नो जीवन सुम्पिएकी हुन् ।

वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा गलत बाटो रोजेकी थिइन् ।

‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत मृत अवस्थामा फेला परिन् ।’

 

रावतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए । सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।

मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको लाश परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१