देउबा निवासमा दिनभर नेताहरुको भीडभाड, साँझ पुगे नेपाल र रावल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७८, बुधबार ०५:००

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा  दिनभर नेताहरुको ओहोरदोहोर चलेको छ । बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव बुढानीलकण्ठ पुगेका थिए भने साँझ सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र नेता भीम रावल देउबा निवास छिरेका थिए ।

मंगलवार दिउँसो बसेको काँग्रेस पदाधिकारी बैठकले पनि एमालेको माधव नेपाल पक्षलाई समेत समेटर नयाँ सरकार गठनको प्रक्रियामा अघि बढाउने निर्णय गरेसँगै नेपाल पक्ष देउवा निवास पुगेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्र नयाँ सरकारका लागि दाबी पेश गर्न माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिए अविश्वास प्रस्तावको पक्षमा सोमबार भएको मत नै प्रयाप्त हुने देखिएको छ । देउबाले नेपाल पक्षले ढुक्क नगराएसम्म प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अगाडि बढ्न आनाकानी गरेको बताइएको छ ।

नयाँ सरकार गठनका लागि एमालेको माधव पक्षका सांसदहरुले प्रधानमन्त्रीको चुनावमा फ्लोर क्रस गर्नुपर्ने हुन्छ कि चुनाव अघि नै राजीनामा गरेर बहुमत संख्या घटाई देउबालाई बाटो खोलिदिनु पर्ने हुन्छ । माधव नेपाल पक्षमा भने केही नेताहरु देउबालाई भन्दा ओलीलाई नै पार्टी एकताका लागि दबाब दिएर जानुपर्ने तर्क राख्ने गरेका छन् । त्यस्ता तर्क राख्नेहरुमा घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई रहेका छन् ।

बुधवारसम्म संसदमा बहुमत पुग्ने गरी माधव पक्षका सांसदहरुबाट राजीनामा आइसक्ने माओवादी केन्द्रका एक नेताले बताए । वर्तमान राजनीतिमा सबैभन्दा संकटमा एमालेमा नेपाल–खनाल पक्ष परेको भन्दै ती नेताले सो समूहले अब ‘बोल्ड डिसिजन’ नगरे उनीहरुको सम्पूर्ण राजनीतिक भविष्य सकिने बताए ।

प्रतिक्रिया