काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
२०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने आज बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेको छ । यसपछि माओवादीले समर्थन फिर्ता लिएको लिने निर्णय गरेको हो । अब माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
ओलीको राजनीतिक उद्देश्य राम्रो नदेखिएको निष्कर्ष
माओवादी केन्द्रले विश्वासको मत लिने प्रधानमन्त्री केपी ओलीको कदमको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ ।
ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको माओवादी केन्द्रको निष्कर्ष छ ।
आज बसेको काठमाडौंमा भएका स्थायी कमिटी सदस्यहरुको बैठकले प्रधानमन्त्रीको कदमलाई सचेततापूर्वक ध्यान दिनुपर्ने समेत जोड दिएको छ ।
फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । अहिले नियमित अधिवेशन बोलाउने समय भएको भन्दै श्रेष्ठले भने, ‘प्रधानमन्त्रकिो राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन । यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक छ ।’
प्रवक्ता श्रेष्ठले भने, ‘चैत २३ भित्र नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भनेका थियौं, त्यतिबेला प्रधानमन्त्रीले विश्वासको मत लिन पहल गर्नुभएन । अब केही समयभित्रै संसदको बजेट अधिवेशन बोलाउनुपर्ने बाध्यकारी अवस्था छ । विश्वासको मत लिन छल्ने र विशेष अधिवेशनको नाम दिएर जुन अधिवेशन बोलाइएको छ । प्रमको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन ।’
प्रतिक्रिया