कालो बजारी, बेड लुकाउनेलाई कारबाही, उपचारमा खट्ने सबैलाई ५० प्रतिशत भत्ता : प्रधानमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७८, मंगलवार ०४:४४

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली बेड लुकाउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । देशबासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेड लुकाउने अस्पताललाई कानूनअनुसार कारबाही गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले कोभिड– १९ महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सहयोग गर्न देशबासीलाई आग्रह गर्नुभयो ।

उहाँले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्दै कोभिड संकटसँग जुध्ने अभियानमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग अपिल गर्नुभयो ।

प्रधानमन्त्रीले सरकारले सबै अस्पताल, मेडिकल कलेजहरूको बेड सरकारले कोरोना संक्रमितका उपचारका लागि प्रयोग गर्ने बताउनुभयो । उहाँले प्रदेशहरूलाई पनि सोही बमोजिम गर्न निर्देशन दिनुभयो । साथै होटल, पार्टी प्यालेस र भवनमा सुविधा सम्पन्न आइसोलेसन निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले कोरोनाको उपचारका लागि सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिने जानकारी दिनुभयो । उहाँले कोरोनाको उपचार, व्यवस्थापन, एम्बुलेन्स चालक, लाश व्यवस्थापमा खटिनेहरूलाई ५० प्रतिशत जोखिमभत्ता दिइने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले केही अवधिका लागि निषेधाज्ञा जारी गरेको बताउँदै स्थितिमा सुधार नभए जारी निषेधाज्ञालाई थप कडाइ गरिने जानकारी दिनुभयो । उहाँले कोरोना नियन्त्रण, उपचार र रोकथामका लागि समन्वय गर्न सातै प्रदेशमा एक–एक मन्त्रीलाई फोकलपर्सनको रूपमा राखिएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१