काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमण दर दिनदिनै बढीरहेको छ । सरकारले कोरोना संक्रण नियन्त्रण तगा रोकथामका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लासहित देशभरका २५ जिल्लामा निषेधाज्ञा लगाएको छ ।
विहिबारदेखि शुरु भएको निषेधाज्ञामा सरकारले झन कडा पार्दै लगेको छ । उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ ।
उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
प्रजिअ पराजुलीका अनुसार ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यसबारे थप निर्णय गरिनेछ । शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको उनले बताए ।
बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाई छ ।
‘आज शनिवार सडकमा गाडी कम छन्, बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएको छ । भोलिदेखि थप कडा गर्ने विचार गरेका छौँ । सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेका छौँ’ उनले भने ।
उनले शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडेका भए त्यसलाई होल्ड गरिने पनि बताए ।
बेड खोज्दै सीडीओ र मेयर
काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयरसहित सुरक्षाकर्मीको टोलीले कोराना संक्रमितको उपचारका लागि थप बेड तयार पार्न अस्पतालहरूको पनि अवलोकन गरेको छ ।
काठमाडौंको वीर अस्पतालको ५ सय शैयाको नयाँ अस्पताल भवनको अवलोकन गरेको हो । सो अस्पतालमा बेड राखेर तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको पराजुलीले बताए ।
काठमाडौंमा निजी क्षेत्रले चलाएको गोर्खा अस्पतालमा पनि कोभिड वार्ड बनाउनका लागि अवलोकन गरेको छ । अस्पतालहरुमा कोभिडका बिरामीको अत्यधिक चाप परेको र बेड मिलाइदिन भन्दै फोन आउने गरेका कारण बेड थप गर्नका लागि अनुगमन गरेको उनको भनाई छ ।
सामाखुसीमा रहेको राधा स्वामीमा तत्काल कोभिड वार्ड बनाउने प्रशानको योजना रहेको छ । त्यहाँ अक्सिजन सहितको ८८ बेड, आइसोलेशन सहितको ९६ बेड तयार भइरहेको प्रजिअ पराजुलीको भनाई छ ।
वीर अस्पतालमा भवन बनेको र भौतिक पूर्वाधार पनि रहेकोले त्यसलाई पनि नयाँ कोभिड वार्ड बनाउनेबारे छलफल भएको छ । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काठमाडौं महानगरपालिकाले कोभिड वार्ड तयार गर्ने तयारी थालिएको उनले बताए ।
अहिलेसम्म कति जिल्लामा लगाईयो निषेधाज्ञा ?
देशभर ७७ जिल्लामध्ये अहिलेसम्म पुर्ण र आंशिक गरेर २५ जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयलयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार यस अवधिमा २१ जिल्लामा पुर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको हो ।
आज राति १२ बजेदेखि गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको मन्त्रालयले जनाएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले वैशाख २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया