सरकारमा कसरी पुग्ने र पुगे पछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो : प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०७८, आईतवार ०४:३२

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गर्नुभएको छ ।

नास्टको ४४औँ प्राज्ञसभालाई आज प्रधानमन्त्री निवास वालुवाटारमा सम्बोधन गर्दै उहाँले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अहिलेसम्म हाम्रो गति उत्साहहीन, सङ्कल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि प्रधानमन्त्रीको भनाइ रहेको छ ।

“सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो । पहिले सरकारमा कसरी पुग्ने र पुगे पछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो”, उहाँको भनाइ थियो ।

करिब १११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत् गृह बनाउने देश अहिले पछाडि परेको भन्दै उहाँले वैज्ञानिकलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशील रहेको बताउनुभयो ।

यस पटक नेपालको पहिलो भू उपग्रह ‘नेपाली स्याट–१’ सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको जानकारी पनि उहाँले दिनुभयो ।

सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १२ विधामा स्थापना गरेका पुरस्कारको समेत निर्णय गरेको छ ।

यसअनुसार डा शेरबहादुर पुन, अनुपकुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्दप्रसाद पोखरेल तथा नातिकाजी महर्जनलगायतका विज्ञान प्रविधि सम्बद्ध व्यक्तित्वलाई पुरस्कृत गरिने छ ।

यसैगरी आगामी वर्षदेखि कृषिसम्बन्धी वैज्ञानिक कार्यका लागि समेत पुरस्कार दिइने निर्णय सभाले गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१