पार्टीको निर्णय फिर्ता हुन्न, नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७७, शनिबार ०५:२०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्ष वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने संकेत गरेका छन् ।

आज (शुक्रबार) बसेको संसदीय दलको बैठकमा खनाल सहितका नेताहरुले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरेपछि ओलीले माधव नेपाल पक्षका कुनै पनि शर्त मान्य नहुने प्रष्ट पारे ।

ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई आजको बैठकमा कारबाही गर्ने संकेत गर्दै यस्तो बताएका हुन् । दलका नेता समेत रहेका ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताए ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुनेसमेत बताएका हुन् । एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत ओलीको भनाई छ ।

उनले पार्टीले गरेका निर्णय वैधानिक भएको बताए । त्यस्तै पार्टीले सोधेको स्पष्टीकरणको जवाफमा माधव नेपाल र भीम रावलले चित्तबुझ्दो जवाफ नदिएको प्रधामन्त्री ओलीको भनाई छ ।

एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरुको व्यवस्थापनमात्र भएको बैठकमा ओलीको भनाई थियो ।

सचेतक भट्टराईले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता नहुने बताएका छन् । उनले भने, “तपाईहरु यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।”

ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाट त्यस्तो स्पष्टीकरण नआउने अपेक्षा समेत गरेका छन् । मुख्य सचेतक भट्टराईले माधव नेपाल र भीम रावलमाथि केन्द्रीय कमिटी बैठकबाटै कारबाहीको निर्णय हुने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१