एमाले केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण, अरु के-के भयो निर्णय ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७७, आईतवार ०५:१३

काठमाडौं । एमाले केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीका अनुसार महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहेका छन् । हाल एमालेमा २२४ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

यस्तै अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने उनले बताए । आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति समेत बनाइएको ज्ञवालीले जानकारी दिए ।

बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

उनीहरुले दिने स्पष्टीकरणको आधारमा बैठकले आवश्यक निर्णय लिने ज्ञवालीको भनाई छ ।

समानुपातिक सांसद राख्ने, हटाउने अधिकार ओलीलाई
अध्यक्ष केपी शर्मा ओलीले सांसद हटाउन सक्ने अधिकार आफैँ लिएका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो ।

अध्यक्षलाई अधिकार प्रत्यायोजन शिर्षकमा राखिएको एजेण्डाबारे बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार समेत ओलीलाई दिइएको छ । एक केन्द्रीय सदस्यका अनुसार संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको हो ।

पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई दिइएको उनले बताए । केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ ।

झाँक्रीमाथिको कारबाही रोकियो
ओलीले स्पष्टीकरण सोधिने नेताहरुको सूचिबाट युवा नेतृ रामकुमारी झाँक्रीको नाम हटाएका छन् ।एक नेताकाअनुसार स्पष्टीकरण सोधिने नेताहरुको सूचिमा उनको नाम भएपनि ओलीले पछि रोकेका हुन् ।

यसअघि माधवन नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल तथा रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । तर ओलीले झाँक्रीलाई स्पष्टीकरण नै सोध्नुपर्ने गरी उनको ‘तौल’ नपुगेको भन्दै बाँकी सदस्यहरुलाई कन्भिन्स गराएपछि उनलाई स्पष्टीकरण सोध्ने प्रारम्भिक निर्णय परिवर्तन गरिएको एक नेताले बताए ।

साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको छ ।

एमाले पार्टी कार्यालय शिलान्यास वैशाख ९ मा गर्ने
ओली समूहको केन्द्रीय कमिटी बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापन निर्णय गरेको छ । त्यस्तै आगामी वैशाख ९ गते (अप्रिल २२) मदननगर बल्खुमा रहेको पार्टी कार्यालयको शिलान्यास गर्ने पनि निर्णय गरेको हो । यसैगरी, स्थायी कमिटी पुनः गठनका लागि अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरिएको छ ।

बाँकी कार्य विभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोख्रेल र टोप बहादुर रायमाझीलाई १० दिनभित्र प्रस्ताव गर्न भनिएको छ । प्रदेश कमिटीको कमिटी बनाउँदा प्रदेशका इन्चार्ज/सह-इन्चार्ज संयोजक र सह-संयोजकको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने भएको छ ।

जन संगठनको हकमा टोपबहादुर रायमाझीले सम्बन्धित जन संगठनको इन्चार्ज, सह—इन्चार्ज, अध्यक्ष, सह अध्यक्ष, महासचिव पदाधिकारीसँग सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१