काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले आफुहरु सँधै पार्टी एकताको पक्षमा रहेको बताए ।
उनले अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको बताए ।
ओलीले कारवाही गर्ने चेतावनी दिएपनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरूलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए ।
‘पूर्व एमालेको ठाउँमा फर्किऔ । कार्यकर्ता भेलामा भनेको कुरा के हो भने ? हामी पार्टी फुटाउने होइन । पार्टी एकताबद्ध बनाएर लैजाने हो।’ उनले भने ।
२०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए । एकताबद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुन जुन संरचना थिए । जो–जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ । पार्टी एकताबद्ध भएर अघि बढाउनुपर्छ । तपाईहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईको पद खोस्न सक्तैन ।’
नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुनसक्छ भनेर आफुहरुले परामर्श गरिरहेकाले नआत्तिकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए ।
प्रतिक्रिया