राष्ट्रपति भण्डारीले कोरोना विरुद्धको खोप लगाइन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७७, मंगलवार ०४:३२

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर राष्ट्रपति भण्डारीले  उक्त खोप लगाएका हुन् । खोप लगाइसकेपछि उनले भने, “विश्व नै कोरोना महामारीका कारण आक्रान्त भइरहेको बेलामा वैज्ञानिकले अध्ययन एवं परीक्षण गरेर कोरोना विरुद्धको खोप हामीलाई उपलब्ध भएको छ । यो निकै खुशीको कुरा हो ।”

सरकारले नेपालमा समयमा नै कोरोना विरुद्धको खोप ल्याएर चरणवद्ध रुपमा लगाउन शुरु गरेको भन्दै राष्ट्रपति भण्डारीले प्रसन्नता व्यक्त गरिन् । नेपाल सरकारले समयमा नै खोप ल्याएर जनताको जीवनरक्षालाई पहिलो प्राथमिकता राखेकामा उनले खुशी व्यक्त गरिन् । पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले खोप लगाएको र अन्यले पनि चरणबद्ध रुपमा लगाइरहेको सन्दर्भमा राष्ट्रपतिले आफ्नै उमेर समूह पर्खेर बसेको जानकारी दिइन् ।

“ज्येष्ठ नागरिकलाई पनि लगाउने क्रम चलेको छ । म मेरै उमेर समूह पर्खेर बसेको थिए । यसैबीचमा मैले मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने कार्यक्रम तय भयो” उनले भनिन्, “खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।” राष्ट्रपति भण्डारीले केही दिनभित्रै छिमेकी मित्रराष्ट्र बङ्गलादेशको भ्रमण गर्न लागेकी छन् । सो अवसरमा राष्ट्रपतिले निर्धक्क भएर खोप लगाउन नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आग्रह गरिन् ।

उनले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, स्वास्थ्य सचिव एवं शिक्षण अस्पतालका पदाधिकारीलाई धन्यवाद दिइन् । उनले कोरोना विरुद्ध जनतालाई जागृत गराउँदै जोखिम न्यूनीकरण गर्न सफलता पाएकामा नेपाल सरकारलाई चिकित्सक, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्तालाई मुक्त कण्ठले प्रंशसा गरिन् । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१