प्रदेश २ मा ‘गोइत समूह’को आतंकः सिरहामा अर्को ‘विस्फोट’ले जनतामा त्रास !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७७, सोमबार ०५:०२

काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा  आइतबार बम बिस्फोट भएको छ । आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा आठ जना घाइतेमध्ये एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीकाअनुसार सेवाग्राही अन्दाजी ३० वर्षीय दिनेशकुमार भण्डारी गम्भीर घाइते भएका हुन् । उनको थप उपचारको लागि नेपाली सेनको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । प्रहरीकाअनुसार दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ । बिस्फोटमा परी घाइते भएका अन्य सात जनाको लहानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बम विस्फोटमा परेर घाइते हुनेमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका-३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन्।

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा द्वन्द्व सकिएको बताएका थिए । तर, आज भएको बम विस्फोटको घट्नाले जनमानसमा फेरि एकपटक त्रास छाएको छ । लहानको मालपोत कार्यालयमा भएको आजको बम बिस्फोट घट्नामा जयकृष्ण ‘गोइत’ नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएपछि यो समूहबारे खोजी-चर्चा हुन थालेको छ ।

को हुन् ‘गोइत’ समूह ?
‘गोइत’ समूहले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका थिए । पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय पारेका थिए । तर, आज लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनास्थलमा प्रहरीले भेटाएको पर्चा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको रहेको खुलेको छ । पर्चा धुजाधुजा भएकाले पर्चामा के लेखिएको छ भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

आज लहानमा भएको घट्नामा भूमिगत समूह गोहितले किन आक्रमण गर्यो ? भन्ने खुलेको खुल्न बाँकी नै छ । यद्यपी आइतबार बिहानमात्र गोइत समूहका ‘सेकेन्ड म्यान’ भनिएका नेता रामविलाश यादवले भने आत्मसमर्पण गरेका थिए ।

यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले बिस्फोट गराएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

प्रदेश २ मा आतंक
प्रदेश नम्बर २ मा भएको अधिकांश घट्नाको जिम्मा यो समूहले नै लिँदै आएको छ । विशेषगरी बिस्फोटक पदार्थसँग जोडिएका धेरैजसो घटनाको जिम्मा गोइत समूहले नै लिएको छ । यो समूहले जिम्मा लिएको ‘बम आतंक’को कारण प्रहरी हैरान हुने गरेको छ । प्रहरीले जनाएअनुसार उद्योगी व्यवसायीसँग चन्दा माग्ने यो समूहको श्रृङ्खला अझै कायम रहेको छ ।

तत्कालीन माओवादीले युद्धकालमा गोइतलाई हटाएर मात्रिका यादवलाई मधेस राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बनाएको थियो । त्यसपछि गोइतले आफ्नै नेतृत्वमा सशस्त्र समूह गठन गरेका हुन् । त्यसयता मधेसमा विभिन्न धावा बोल्दै आएका गोइतले अझै पनि मधेसमा आतंक सिर्जना गरिरहेको छ ।

गोइत समूहले यस अघि २०७५ साउन २७ मा विराटनगर महानगरपालिकामा बम बिस्फोट गराएका थिए । उक्ता घट्नाको २१ दिनपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो ।

त्यस्तै, २०७४ मंसिर २८ मा सिरहाको लहानको लोकतन्त्र चोक छेउमा बम विस्फोट गराएका थिए । साइकलको सिटमुनी फिट गरेको सकेट बम बिस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ बनरझुल्ला बस्ने ४६ वर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४ पनसेरा बस्ने ४४ वर्षीय धनराज चौधरी घाइते भएका थिए ।

त्यस्तै यो समूहले नै २०७३ मंसिर २३ मा सिरहाको मिर्चैयामा प्रेसर कुकर बम बिस्फोट गराएका थिए । घटनाको जिम्मा लिने गोइत समूह नै रहेको छ । २०७३ मंसिर १२ मा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम फेला परेको थियो सो घटनाको जिम्मा गोइत समूहले नै लिएका थिए । त्यस्तै सप्तरीको झुट्की प्रहरी चौकीको असईको हत्या भएको थियो । राजविराजस्थित सांसद सुरेन्द्र यादवको घरमा राखिएको सिलिन्डर बम बिस्फोटको घटनाको जिम्मा पनि यो समूहले नै लिएको प्रहरीको भनाइ छ ।

पक्राउ गर्न प्रहरी असफल
प्रहरीकाअनुसार गोइत लामो समयदेखि भारतमा बस्दै आएका छन् । उनलाई पक्राउ गर्न प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गर्ने प्रयास गरेपनि प्रहरी सफल हुन सकेको छैन ।

लहानस्थित मालपोत कार्यालयमा आज भएको विस्फोटपछि प्रहरीले प्रहरीले पर्चा भेटेको आधारमा अनुसन्धानका लागि विभिन्न स्थानमा सर्च अपरेसन गरिरहेको प्रहरीले जनाएको छ । तर, प्रहरीले यो समूहलाई पक्राउ गर्न नसक्दा प्रदेश नम्बर २ ‘बम आतंक’को कारण जनमानसमा त्रास पैदा भएको छ ।

लहान मालपोत बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो
सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका हुन् । ‘तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सो विस्फोट गराइएको’ भन्दै सो समूहले भ्रष्टाचार र अपराध जारी नै रहे अझ ‘उच्चस्तरको कारबाही गरिने र त्यसको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुनुपर्ने चेतावनी समेत दिइएको छ । घटनास्थल वरपर सो समूहको पर्चासमेत भेटिएको थियो ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१