एमालेमा जिम्मेवारी हेरफेर, थापा, शाह र भट्टकाे जिम्मा यस्ताे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७७, शनिबार ०५:५७

काठमाडाैं । नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो । नेकपा (माओवादी केन्द्र)बाट आएका गृहमन्त्री रामबहादुर थापा , लेखराज भट्ट र प्रभु साहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ ।

थापालाई वाग्मती प्रदेशका इन्चार्ज, साहलाई प्रदेश–२ का अध्यक्ष र भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनका अनुसार एमालेका प्रवक्तामा प्रदीपकुमार ज्ञवाली, प्रदेश–१ का इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाल, प्रदेश–२ का इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा साह र सचिवमा सुमन प्याकुरेल, वाग्मती प्रदेशका इन्चार्जमा थापा, अध्यक्षमा पोखरेल र सचिवमा खेम लोहनी, गण्डकी प्रदेशका इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको छ ।

यस्तै लुम्बिनीका इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशका इन्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गुलाबजंग शाह र सचिवमा धर्मराज रेग्मी, सुदूरपश्चिमका इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्रसिंह रावल रहनुभएको छ । यस्तै वाग्मती प्रदेशका अध्यक्ष पोखरेलका अनुसार एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत भएको छ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागी थिएनन् । यसअघि एमालेको नवौँ महाधिवेशन २०७१ असारमा भएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकता पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यही फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले दुई पार्टी मिली बनेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएको थियाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१