काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बालुवाटारमा आफ्नो पक्षीय सांसदहरुलाई बोलाएर वर्तमान राजनीतिक स्थितिका बारेमा ब्रिफिङ गरेका छन् ।
सर्वोच्च अदालतको आइतबार आएको फैसलाले राजनीतिक कोर्ष नयाँ ढंगले अघि बढेको भन्दै ओलीले नेकपा खारेज गर्ने निर्णयले आफूलाई दुखित तुल्याएको बताए ।
बैठकमा सहभागी एक सांसदका अनुसार, प्रधानमन्त्री ओलीले दुःखका साथ पार्टी एकता गरिएको भन्दै पार्टी एकतापछि बनेको नेकपा खारेजीले समस्या निम्तिएको बताएका थिए । उनले अब साविकको पार्टी नै वैधानिक बनेकाले सोही अनुसार पार्टीको काम अघि बढाउनेबारे जानकारी गराएका थिए ।
उनले अब चाँडै नै साविक नेकपा एमालेको बैठक बोलाउने पनि जानकारी दिए । सर्वोच्चको आदेशअनुसार नै एमालेको बैठक बस्ने उनले बताए । उनले बैठकमा भने, ‘सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए । अब नेकपा एमालेको बैठक बस्छ ।’
एमालेको दलको बैठक बसेर नयाँ कोषबारे निर्णय लिइने ओलीको भनाइ थियो । अदालतले नेकपाको एकतालाई मान्यता नदिएकाले अब आफ्नो सरकार संयुक्त बनेको पनि ओलीले बताएको एक सांसदले बताए ।
संयुक्त सरकार बनेको स्थितिमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत पनि चाँडै लिने ओलीले बताएका थिए ।
प्रतिक्रिया