इञ्जा खोज पत्रकारिता पुरस्कारबाट लोकान्तरका समाचार सम्पादक सुशील पन्त पुरस्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७७, बुधबार ०५:११

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट लोकान्तर डट्कमका समाचार सम्पादक सुशील पन्त पुरस्कृत तथा सम्मानित भएका छन् ।

सोही शीर्षकको पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्कीलाई पनि प्रदान गरिएको छ ।

एक लाख रुपैयाँ राशिको पुरस्कार सभामुख अग्निप्रसाद सापकोटाले सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पन्त र कार्कीलाई संयुक्त रूपमा प्रदान गरेका हुन् ।

पत्रकार पन्तले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरूका पीएले दशैं भत्ता लिएको समाचार लेखेका थिए ।

लोकान्तरमा समाचार प्रकाशित भएपछि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरूसम्मले दशैं भत्ता फिर्ता गरेका थिए ।

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्बन्धमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित गरेका थिए ।

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरूमध्येबाट पत्रकार पन्त र कार्कीका समाचारलाई उत्कृष्ट ठहर गरेको थियो ।

गुल्मीमा जन्मिएका पत्रकार पन्तले २०६० सालदेखि रेडियो पत्रकारिताबाट करियर शुरू गरेका हुन् ।

लोकान्तर डट्कमका समाचार सम्पादक पन्तले संसदीय मामिला र सुशासनको विषयमा कलम चलाउँदै आएका छन् । उनी संसदीय मामिला पत्रकार समाजका पूर्व महासचिव समेत हुन् ।

इञ्जाको तेस्रो स्थापना दिवस तथा पुरस्कार वितरण एवं सम्मान समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनदेखि पुन:स्थापनासम्मको अवधिमा नेपालको पत्रकारिता जगत अग्रमोर्चामा खडा भएको बताए ।

‘पुस ५ देखि फागुन ११ गतेसम्म ६६ दिन भएको एउटा महान् बहसमा नेपाली पत्रकारिता जगत अग्रमोर्चामा खडा भयो,’ सापकोटाले भने, ‘मैले त्यो बहसलाई समुद्र मन्थनको रूपमा नै लिएको छु ।’

लोकतन्त्रका सबै आयामलाई समेटेको नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको दाबी गर्दै उनले थपे, ‘हाम्रो परम्परागत संसदीय व्यवस्था पनि होइन, मौलिक नेपालीपन झल्किएको संविधान हो।’

संविधानलाई परिमार्जन, संशोधन र विकास गर्न सकिने तर त्यसको लागि संविधानको कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो ।

सभामुखको शपथ ग्रहण गरेदेखि नै संघीय संसदलाई जीवन्त तथा जनमुखी बनाउन सूत्र वाक्य नै बनाएर लागिपरेको उनले बताए।

नेपालको पत्रकारिता जगत गर्व गर्न लायकको रहेको तथा आगामी दिनमा समेत नेपाली पत्रकारिताको भविष्य उज्ज्वल रहनुका साथै चुनौतीभन्दा पनि अवसर नै बढिरहेको उनले बताए ।

सो अवसरमा साहित्यकार राजेन्द्र पराजुलीलाई उत्कृष्ट साहित्यिक पुरस्कार तथा इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार बझाङका पत्रकार वसन्तप्रकाश सिंह, रुपन्देहीकी पत्रकार नीरा गौतम र दोलखाकी पत्रकार मन्दिरा थापालाई प्रदान गरियो ।

कार्यक्रममा लामो समयदेखि पत्रकारिता अध्यापन गराउँदै आएका लाल देउसा राईलाई इञ्जा दीर्घ सेवा पुरस्कार प्रदान गरियो ।

लामो समय पत्रकारिता गरेका प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी र प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

 

कार्यक्रममा इञ्जा एसिया च्याप्टरका अध्यक्ष टंक पन्तले विभिन्न क्षेत्रमा दिइएका पुरस्कारले पत्रकारहरूको प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

लोकान्तरमा प्रकाशित समाचारका कारण सांसदहरूले दशैं भत्ता फिर्ता गरेकोबारे पनि अध्यक्ष पन्तले कार्यक्रममा चर्चा गरेका थिए ।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित लगायतले इञ्जा पुरस्कारले पत्रकारहरूलाई प्रोत्साहन गरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१