अख्तियार टोली देखेपछि घुस लिएको ८ लाख रुपैयाँ बाटोमै फालेर गाउँपालिका अध्यक्ष भागे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७७, बुधबार ०४:४२

काठमाडौ । घुस लिएको ८ लाख रुपैयाँ बाटोमै फालेर गाउँपालिका अध्यक्ष भागेका छन् । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घुस लिएको ८ लाख रुपैयाँ बाटोमै फालेर फरार भएको हुन् ।

भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालबाट टोली खटिएको थियो।

गाउँपालिका अध्यक्ष राउत गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्रदेश २–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा घुस लिएको ८ लाख रुपैयाँ लिएर जाने क्रममा अख्तियारको टोलीलाई देखेपछि रकम फालेर भागेको आयोगले जनाएको छ।

राउतले छिरेश्वर नगरपालिका–५ को बाटो छेउमा ८ लाख रुपैयाँ फालेका हुन्। उनी फरार भएपनि सवारी चालक र नगद नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया