मुम्बई। अभिनय र सुन्दरतामा परिचित बलिउड अभिनेत्री श्रीदेवी निधन भएको आज ३ वर्ष पुगेको छ । उनको सन् २०१८ फेब्रुअरी २४ मा दुबईमा निधन भएको थियो । श्रीदेवीले बाल कलाकारका रुपमा अभिनय यात्रा सुरु गरेकी थिइन् ।
जीन्यूजमा प्रकाशित समाचार अनुसार श्रीदेवीले १३ वर्षको उमेरमा रजनीकान्तको आमाको भूमिकामा अभिनय गरेकी थिइन् । त्यसपछि उनले रजनीकान्तकै प्रेमिकाको भूमिका पनि निभाइन् ।
श्रीदेवीलाई तमिल फिल्म ‘मूंदरु मुदिचू’मा रजनीकान्तको आमाको भूमिका निभाउन प्रस्ताव आउदा उनी निकै खुशी भएकी थिइन् । किनकी त्यो समयमा रजनीकान्त सुपरस्टार भइसकेका थिए ।
त्यो समयमा रजनीकान्तको उमेर २५ वर्षको थियो । उक्त फिल्ममा श्रीदेवीले रजनीकान्तको सौतेली आमाको भूमिकामा अभिनय गरेकी थिइन् । यो फिल्ममा कमल हासनको पनि अभिनय थियो ।
श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अय्यप्पन थियो । तर फिल्ममा आएपछि उनले आफ्नो नाम श्रीदेवी राखिन् । श्रीदेवीले अनिल कपूरसँग १३ र जीतेन्द्रसँग १६ फिल्ममा अभिनय गरिन् ।
श्रीदेवीले अनिलका ठूलो दाजु बोनी कपुरसँग विवाह गरेपछि अनिल र श्रीदेवी वास्तविक देवर–भाउजू बने । उनले रजनीकान्तसँग २० फिल्ममा अभिनय गरिन् ।
श्रीदेवीको निधन दुबईको एक होटलको बाथरुममा भएको थियो । एक आफन्तको विवाहमा सहभागिता जनाउन पति बोनीसहित त्यहाँ पुगेकी उनको होटलको बाथटवमा डुबेर मृत्यु भएको थियो ।
प्रतिक्रिया