किमोलुङ फाउण्डेशन नेपालद्वारा गोरखाको चुम्चेत र छेकम्पारमा ६०० घरधुरीलाई राहत वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७७, बिहीबार ०५:३९

गोरखा। किमोलुङ फाउण्डेशन नेपालले गोरखाको छेकम्पार र चुम्चेतमा राहत सामग्री बितरण गरेको छ । कोरोना महामारीका कारण बिगत एकबर्षदेखि तिब्बत नाकाबन्द हुँदा र लकडाउनका कारण काम बिहिन हुँदा समस्यामा परेका त्यहाँका बासिन्दालाई राहत सामग्री वितरण गरेको फाउण्डेशनका अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए ।

उनले बुधबार चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारमा र गत आइतबार वडा नं. ६ को चुम्चेतमा खाद्यान्न राहत सामग्री वितरण गरेका थिए ।

‘वडा नं. ७ को छेकम्पारदेखि निलेसम्मका २७८ घरधुरीका बासिन्दालाई र यहाँ रहेका म्हुगुम्बा, राजेन गुम्बा, घेरेनआनी गुम्बामा बस्नेहरुलाई, निले स्वास्थ्यचौकी, लार स्वास्थ्यचौकी, करुणा क्लिनिक, छेकम स्वास्थ्यचौकीका कर्मचारीहरु, सीमा प्रहरी चौकी छेकम्पारका प्रहरीहरुलाई समेत राहत सामग्री प्रदान गरेको छु’, उनले भने, ‘प्रत्येक घरलाई पाँच किलो चामल, तीन लिटर खानेतेल र तीन किलोग्रामका दरले खुर्सानी प्रदान गरेको हुँ ।’ वडा कार्यालयसँगको समन्वय र सिफारिसको आधारमा राहत वितरण गरेको उनले बताए ।

साथै उनले सो क्षेत्रका बासिन्दाले महत्वपूर्ण रुपमा मान्ने वोधिचित्त माला पनि वितरण गरेका छन् । छेकमका ५४ जना, जोङका १४ जना, राजेन गुम्बाका २३ जना, म्हु गुम्बाका पाँच जनालाई सो माला वितरण गरेको उनले बताए ।

त्यस्तै गत आइतबार वडा नं. ६ मा पनि खाद्यान्न राहत वितरण गरेका थिए । चुम्चेत, चुम्लिङ, सिप्चेत र लोक्पाका गरी दुईसय ६८ घरधुरीलाई खाद्यान्न राहत बाँडेको उनले बताए । साथै गुम्बामा बस्नेहरु, विद्यालय, स्वास्थ्यचौकीका शिक्षक तथा कर्मचारीलाई पनि राहत वितरण गरेको उनले बताए । उनीहरुलाई पनि छेकम्पारका बासिन्दालाई सरह परिमाणमा सामग्री वितरण गरिएको हो ।

चुमनुब्री गाउँपालिका कार्यालय तथा वडा नं. ६ र ७ का कार्यालयहरुसँगको समन्वयमा जर्मनीको हफ्मान फेमिली, अमेरिकाको इभेण्ट नेपाल, क्यानडाको कोर इन्टरनेशनल र ताइवानको देनर चिल्ड्रेन फाउण्डेशनको सहयोगमा किमोलुङ फाउण्डेशनले राहत वितरण गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१