काठमाडौं । नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको बताएका छन् । सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका प्रम ओलीलाई कटाक्ष गर्दै उनले यस्तो बताएका हुन् ।
बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेता रावलले भने, “संसद विघटनको चौतर्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।”
उनले अहिले जनतालाई कोरोना विरुद्ध खोप चाहिएको बताउँदै त्यसका लागि ५० अर्ब रकम आवश्यक पर्ने तर त्यता ध्यान नदिई ५०, ६० अर्ब खर्च गरेर निर्वाचन गर्न खोजेको बताए । उनले ओलीलाई राम्रो काम गर्न पार्टीले कहिल्यै अवरोध नगरेको पनि बताए ।
प्रतिक्रिया