काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको रोहवरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा वरिष्ठ नेता बाबुराम भट्टराईको भेट भएको छ। भृकुटीमण्डपमा शुक्रबार भएको विरोध सभालगत्तै प्रचण्ड उपराष्ट्रपति निवास पुगेका थिए। भैरहवामा रहेका भट्टराई पनि काठमाडौं आएलगत्तै उपराष्ट्रपति निवास पुगेका थिए।
उपराष्ट्रपति निवास लैनचौरमा तीन जना बीच आधा घण्टा भन्दा बढी भेट भएको थियो।
भेटमा अहिलेको राजनीतिक अवस्था र आगामी योजनाबारे छलफल भएको उच्च स्रोतले सेतोपाटीलाई जानकारी दियो।
उनीहरुले विगतको माओवादी आन्दोलनकाबारेमा समेत छलफल गरेका थिए। उच्च श्रोतका अनुसार भेटका लागि उपयुक्त स्थान नै उपराष्ट्रपति निवास हुने ठहर गरेर प्रचण्ड र भट्टराई त्यहाँ पुगेका हुन्।
‘उपराष्ट्रपतिज्यू धेरै बोल्नुहुन्न। उहाँले सक्रिय राजनीति गर्ने पनि होइन। तर तीन जना बिचको भावनात्मक सम्बन्ध विशिष्ठ खालको छ। प्रचण्डले जनयुद्वको मुख्य नेतृत्व गर्नुभयो। बाबुरामले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गर्नुभयो र उपराष्ट्रपतिले सैन्य कमाण्ड सम्हाल्नुभयो,’ स्रोतले भन्यो, ‘प्रचण्ड र बाबुरामको भेटमा साक्षी बस्न सक्ने उपर्युक्त व्यक्तिनै उपराष्ट्रपति हो। यसअघि पनि प्रचण्ड र बाबुरामको भेट उपराष्ट्रपति निवासमा भएको थियो।’
यसअघि पुस १४ गते भृकुटीमण्डपमा भएको विरोध सभा लगत्तै प्रचण्ड र बाबुरामको भेट भएको थियो। त्यो दिन पनि उपराष्ट्रपतिकै रोहबरमा भेट भएको हो। उच्च स्रोतका अनुसार प्रचण्ड र बाबुराम बिच अब सामुहिक आन्दोलन गरेर जानुपर्नेबारे समेत छलफल भएको थियो।
‘अहिलेको कदम र केपी ओलीप्रति दुवै नेताको बुझाइ एउटै छ। केपी ओलीले अझै प्रतिगामी असंवैधानिक काम गर्न सक्ने भएकाले ठूलै आन्दोलन गर्नुपर्नेमा दुई नेताको एकमत छ,’ स्रोतले सेतोपाटीसँग भन्यो, ‘एक्लै आन्दोलनको सट्टा सामुहिक आन्दोलन गर्नुपर्ने उहाहरुको निश्कर्ष रहेको छ। कांग्रेससहितको सामुहिक आन्दोलन गर्नुपर्ने र त्यसका लागि उसलाई विश्वासमा लिनुपर्नेमा प्रचण्ड,बाबुराम सहमत हुनुभएको छ।’
प्रतिक्रिया