खैरो हिरोइनको कारोबार गर्ने गिरोहका ९ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७७, बिहीबार ०५:०४

काठमाडौँ। लागुऔषध खैरो हिरोइन कारोबार गर्ने गिरोहका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ रहेका छन् ।

सार्वजनिक कार्यक्रममा ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले लागुऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिए ।

“काठमाडौँ उपत्यकाभित्र लागुऔषध कारोवार गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको छ”, उनले भने ।

प्रहरीले पक्राउ परेकासँग ५३६ ग्राम खैरो हिरोइन, ७.५ ग्राम एमफेटाइमन आइस ड्रग र लागुऔषध तौल गर्ने मेसिनसमेत बरामद गरेको छ ।

यस्तै छ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, छ हजार १०० अमेरिकन डलर, तीन थान मोटरसाइकल तथा स्कुटरसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिले खैरो हिरोइनको एक ग्रामको तीन हजारदेखि १० हजारसम्म बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१