काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको चुनाव तोकिएको मितिमा हुने बताउँदै तयारीमा जुट्न निर्देशन दिएका छन् ।
विहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले तोकिएको समयमा चुनाव हुने बताउँदै निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार निर्वाचन गर्नेबारे छलफल भएको हो । छलफलमा क्रममा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताएका थिए ।
उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफूहरु नै भएको स्पष्ट पारेका थिए ।
बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा जनलहर बढेको बारेमा समेत मन्त्री तथा स्थायी कमिटी सदस्यहरुले ओलीलासँग ब्रिफिङ गरेको उनले बताए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी लिएका थिए ।
नेम्वाङले सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश नगरेको र अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै नटुंगिएको विषयमा जानकारी गराएका थिए ।
अनौपचारिक छलफल भनिएकाले आज कुनै निर्णय नभएको उनले बताए ।
गत पुस ५ मा संसद् विघटनसँगै नेकपालका दुवै पक्षले आ-आफ्ना गतिविधिलाई तीव्र पार्दै आएका छन् ।
नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सडक संघर्षलाई निरन्तरता दिँदै आएको छ भने ओली समूहले चुनाव तोकिएकै समयमा हुने बताउँदै जिल्लाव्यापी प्रशिक्षण तथा भेलाका कार्यक्रमलाई तीव्रता दिँदै आएको छ।
प्रतिक्रिया