काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा भएको राजनीतिक फुटको असर प्रदेश तहमा पुग्दा नेता कार्यकर्ताको तानातान सुरु भएको छ । यसैबीच कर्णाली प्रदेशमा सांसदहरुकै तानातान देखिएको छ ।
कर्णाली सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट मन्त्री बनेका दुई जना सांसदले आफ्नो कित्ता परिवर्तन गरेका छन् । अर्का एक सांसदसहित दुई मन्त्रीले ओली समूह त्यागेर प्रचण्ड-माधव समूहमा प्रवेश गरेका छन् ।
कर्णालीका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्द सिंह बुढाले ओली समूह त्यागेर प्रचण्ड-माधव समूहमा आफूलाई खुलाएका छन् । उनीहरुसँगै सांसद पदम बहादुर रोकाया पनि प्रचण्ड-माधव समूहमा लागेका छन् ।
यससँगै संकटमा रहेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको कुर्सी तत्कालका लागि जोगिने देखिएको छ । प्रदेश सभामा प्रचण्ड-माधव पक्षका मुख्यमन्त्री शाहीको पक्षमा ३३ मध्ये २२ जना रहेका छन् । ओली समूहमा ११ जना मात्रै बाँकी रहेका छन् ।
प्रतिक्रिया