जिएसए नियुक्तिबारे नेपाल वायुसेवा निगममा विवाद, बोर्ड सदस्य शेर्पाकै ‘फरकमत’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७७, आईतवार ०४:५४

काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समितिका बोर्ड सदस्य फुरगेल्जे शेर्पाले नेपाल वायुसेवा निगमको दिर्घकालिन हितको निम्ती आफूले ‘जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्तिको मापदण्ड संशोधन बिषयमा ‘फरक मत’ लेखेको बताएका छन् ।

शेर्पाले नेपाल वायुसेवा निगमको ९ मंसिर २०७७ मा बसेको सञ्चालक समितिको बैठकमा प्रस्तुत जनरल सेल्स एजेन्ट(जिएसए) छनोट सम्बन्धी विनियमावली–२०७७ को विनियम ३ खण्ड (ङ) मा फरक मत राखेका थिए ।

उक्त खण्डमा ‘कम्तीमा एउटा वायुसेवा प्रदायकको जिएसएको रूपमा सम्बन्धित देशमा काम गरेको अनुभव भएको’ भन्ने नयाँ प्रावधानको व्यवस्था गरिएको छ । तर, शेर्पाले थपिएको यस नयाँ व्यवस्थाले निगमका हाल कार्यरत जिएसएहरुलाई नै निरन्तरता दिने आधार बलियो पार्ने र प्रतिस्पर्धी बजारमा नयाँ क्षमतावान र व्यवसायिक कम्पनीहरु छनोटलाई पूर्णतः निषेध गर्ने भन्दै फरक मत लेखेका थिए ।

नयाँ प्रावधानले निगमको व्यवसायिक क्षमतालाई यथास्थितीमा राख्ने र नयाँ क्षमतावान कम्पनीलाई निषेध गर्ने भएकोले फरक मत राखेको शेर्पाको भनाई छ । शुक्रबार विज्ञप्ति जारी गरेर शेर्पाले भनेका छन्,‘थपिएको यस नयाँ व्यवस्थाले निगमका हाल कार्यरत जिएसएहरुलाई नै निरन्तरता दिने आधार बलियो पार्दछ भने प्रतिस्पर्धी बजारमा नयाँ क्षमतावान र व्यवसायिक कम्पनीहरु छनोटलाई पूर्णतः निषेध गर्दछ । सम्बन्धित कम्पनीको केवल अनुभव मात्रै होइन वर्तमान क्षमता, पुँजी, व्यवसायिकता, बजार प्रभावको आधारमा जिएसए नियुक्ती हुनुपर्दछ भन्ने मेरो मत हो ।’ निगमको हितविपरित शेर्पा उभिएको भन्दै टिप्पणी र प्रचार भएपछि शेर्पाले विज्ञप्ति जारी गरेर प्रष्ट पारेका हुन् ।

निगमको दिर्घकालिन व्यवसायिक हितको निम्ति आफ्नो अडान सही रहेको बताएका छन् । भनेका छन्,‘व्यवसायिक रुपमा क्षमतावान नयाँ कम्पनी रोकेर पुरानोलाई नै निरन्तरता दिनु निगमको व्यवसायिक क्षमतालाई यथास्थितीमा राखिनु हो । यो व्यवस्थाले अधिकतम् योग्य जिएसए छनोटको बाटो बन्द गरीदिएको छ । यो गलत हो भन्ने कुरामा म दृढ छु । मेरो फरक मत र अडान निगमको दिर्घकालिन हितको निम्ती हो भन्नेमा दृढ छु । मलाई विश्वास छ, भोली त्यो समयले पुष्टी गर्ने नै छ ।’

‘यति समूहसँग मेरो संग्लनता छैन’
शेर्पाले यति समूहमा आफ्नो कुनै पनि खालको सहभागिता र संग्लनता पनि बताएका छन् । आफ्नो बेग्लै व्यवसाय भएको उल्लेख गर्दै शेर्पाले यतीका ‘एजेन्ट’ रुपमा प्रचार नगर्न आग्रह गरेका छन् । भनेका छन्, ‘मैले यसअघि पनि प्रष्ट पारेको छु, म नेपालको पर्यटन क्षेत्रमा विगत ४० वर्षदेखि क्रियाशिल छु । उड्यन क्षेत्रमा विगत एक दसकदेखि आबद्ध छु । आफ्नै संघर्ष र पौरखले बाँचिरहेकालाई कसैको ‘एजेन्ट’को रुपमा किन बारम्बार प्रस्तुत गरिन्छ ? म आश्चर्य चकित भएको छु ।’

‘शेर्पा हुनुको नाता’ बाहेक आफ्नो ‘यती समूह’ मा मेरो कुनै सहभागिता र लगानी नरहेको उनको भनाई छ । ‘शेर्पा हुनुको नाता’ बाहेक मेरो ‘यती समूह’ मा मेरो कुनै सहभागिता र लगानी रहेको छैन तर म यहाँ भन्न चहान्छु, ‘यती समूह’ नेपाली माटोको सुगन्ध रहेको देशभक्त राष्ट्रिय पूँजीपतिको समूह हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१