सभामुख संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुनुको कारण यस्तो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७७, बुधबार ०४:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आफू अनुपस्थित हुनुको कारण बारे प्रष्ट पारेका छन् । मंगलबार सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गरी मंसिर २८ गते र ३० गते उक्त बैठकमा उपस्थित नहुनुको कारण प्रष्ट्याएका हुन् ।

प्रेस नोटमा बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सभामुखले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उल्लेख गरिएको छ ।

प्रेस नोटमा भनिएको छ, “राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ । नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ ।”

जारी प्रेस नोटमा राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्ने बताइएको छ ।

सभामुखका प्रेस विज्ञ न्यौपानेद्वारा जारी प्रेस नोटः–

सम्माननीय सभामुखको सचिवालय प्रतिनिधिसभा,
संघीय संसद
प्रेस नोट
संवैधानिक परिषद्को मिति २०७७ साल मंसिर २८ र ३० गतेको बैठकमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिलाई लिएर उठेका प्रश्न स्पष्ट पार्न यो प्रेस नोट जारी गरिएको छ ।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८: ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नु भएको यस अघि नै जानकारी गराइसकिएको छ । स्मरण रहोस्, त्यस दिन विहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो ।
जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।
राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ । नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ ।

राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको छ ।
उहाँले संसदलाई जीवन्त र जनमुखी बनाउने सूत्र वाक्यलाई हृदयङ्गम गरि जननिर्वाचित सर्बोच्च निकाय संघीय संसदको गरिमालाई माथि उठाउने विषयलाई सदैब जोड दिँदै आउनु भएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको अवगत नै छ । उहाँ संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैब सचेत हुनुहुन्छ ।
श्रीधर न्यौपाने
प्रेस विज्ञ,
२०७७ मंसिर ३०

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१