उचाईकै बाटोतिर अग्रसर हुन प्रधानमन्त्रीको सबैमा आग्रह (सम्बोधनको पूर्णपाठ र भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७७, बुधबार ०४:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको नयाँ मापन सार्वजनिक भएको अवसरमा सबैलाई उचाईकै बाटोमा अग्रसर हुन सबैमा आग्रह गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमा एक भिडियो सन्देश पोस्ट गर्दै सगरमाथाको उचाई थप भएकोमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, “तर, आज जसरी होस् उचाई थप भएको अथवा बढी उचाई भएको तथ्य सार्वजनिक भएको छ । यो खुसीको कुरा हो ।”

प्रधानमन्त्रीले नयाँ उचाईको तथ्याङ्क उचाई बढेर वा विगतको उचाईंको मापन उपयुक्त संयन्त्र, विधि र मूल्याङ्कन समूचित ढंगले हुन नसकेर भएको हुनसक्ने बताएका पनि छन् । उनले सगरमाथाको उचाई मापन जस्तो कष्टसाध्य काम गरेकोमा उक्त टोलीलाई धन्यवाद पनि दिएका छन् ।

प्रधानमन्त्रीको भिडियो सन्देशको पूर्णपाठः–

विश्वको शिखर सगरमाथा, चोमोलोङ्मा । यसको उचाई बढी विश्वसनीय, भरपर्दो र यथार्थमा आधारित हुन सकोस् भनेर नेपाल र चीनले संयुक्त रुपमा मापन गरी आज नयाँ उचाईको तथ्याक सार्वजनिक भएको छ । जसअनुसार अब सगरमाथाको उचाई ८८४८.८४ मिटर कायम भएको छ । सरगमाथाको उचाई ०.८६ मिटरले वृद्धि भएको छ ।

हाम्रा हिमालहरु नयाँ हुन् । हिमाल बढ्ने क्रम नयाँ हो । र क्रमशः उचाई बढ्दै जानु पनि स्वभाविक हो । त्यसैक्रममा आज सार्वजनिक भएको नयाँ उचाईको तथ्याङ्क उचाई बढेर हुन सक्दछ वा विगतको उचाईंको मापन उपयुक्त संयन्त्र, विधि र मूल्याङ्कन समूचित ढंगले हुन नसकेर हुन सक्छ । तर, आज जसरी होस् उचाई थप भएको अथवा बढी उचाई भएको तथ्य सार्वजनिक भएको छ । यो खुसीको कुरा हो । र, हाम्रो देशको उचाई पनि .८६ मिटरले माथि उठेको छ । यस अवसरमा म संयुक्त टोलीलाई कष्टसाध्य काम गरेर यो नयाँ उचाईको तथ्याङ्क निकालेकोमा धन्यवाद भन्न चाहन्छु । र, हामी उचाईकै बाटो तिर अग्रसर हौं भनी सबैमा हार्दिक आग्रह गर्न चाहान्छु ।

धन्यवाद !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१